‘मानिसलाई मृत्युको अवस्थामा पुर्याउने रोग मध्ये कोरोना ५० औं नम्बरमा’

‘मानिसलाई मृत्युको अवस्थामा पुर्याउने रोग मध्ये कोरोना ५० औं नम्बरमा’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने स्पस्ट पारेका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको बताएका हुन् । उनले जोखिम भएका स्थानमा स्थानीय सरकार तथा जिल्ला स्तरबाट सेवाहरु रोकिने अथवा लकडाउन हुन सक्ने तर देशभर एकैसाथ लकडाउन हुने स्थिति नरहेको स्पस्ट पारे । उनले त्रसित भएर पूर्णरुपमा यसअघि जस्तै लकडाउन हुन्छ भन्ने मनस्थिति कसैले पनि नबनाउन आग्रह गरे । उनले अहिले पनि दुई दर्जन भन्दा बढी स्थानीय तहहरुमा लकडाउन गरिएको उल्लेख गर्दै संक्रमणको जोखिम भएका ठाउँमा मात्रै लकडाउन हुने बताए ।

काठमाडौं उपत्यका भित्रको बढ्दो संक्रमण जोखिम र त्यो पनि सरकारको मुख्य कार्यालयकै ठाउँमा संक्रमणको जोखिम भएको हुनाले केही कदमहरु चाल्न सुरु गरिएको उनले बताए । जनजीवनमा अप्ठेरो परे पनि केही दिनका लागि सार्वजनिक सेवा लिने कुरामा हतार नगर्न पनि मन्त्री खतिवडाले आग्रह गरे ।

सरकारले कोरोना नियन्त्रणका लागि प्रतिकारात्मक र उपचारात्मक विधि अपनाएर काम गरिरहेको र संक्रमितलाई भेन्टिलेटरसम्म पुग्नु पर्ने अवस्था आउन नदिने उनले बताए । त्यसका लागि सरकारले उपचारका संयन्त्र, यन्त्र उपकरण लगायतको व्यवस्था गरिरहेको बताए ।

क्वारेन्टाइन्हरु खालि हुँदै जाने र आइसोलेसनका बेडहरु बढ्दै जाने स्थिति भएकाले सोही अनुसारको व्यवस्था गर्नु पर्ने आवश्यकता अनुसार काम भइरहेको स्पस्ट पारे । आवश्यकता अनुसार कतिपय ठाउँमा आइसियु कक्षको थप विस्तार गर्दै जाने रणनीतिमा सरकार रहेको बताए । यस्तै कोभिडको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिरहदा स्वास्थ्य सम्बन्धी अरु कारणले मृत्यु नहोस् र अन्य आर्थिक समस्या समेत नआओस् भन्ने विषयमा सरकार सजग रहेको बताए ।

प्रधनमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने या नगर्ने भन्ने सम्बन्धमा स्वास्थ्य क्षेत्रका विज्ञहरु र आर्थिक क्षेत्रका विज्ञहरुसँग छलफल गरिसकेको उनले बताए । विज्ञहरुले लकडाउन मात्रै समस्याको समाधान नभएको सुझाव दिएकाले सोही अनुसार नै व्यवस्थापन गरिने बताए । विज्ञहरुले मानिसको मृत्युसम्मको अवस्थामा पु¥याउने विभिन्न रोगको विवरण उपलब्ध गराएको र त्यसमा कोरोना ५० औं नम्बरमा रहेको बताए ।

समस्या बढ्दै जाँदा कतिपय अवस्थामा अलि कठोर हुनुपर्ने र कतिपय अवस्थामा खुकुलो हुनुपर्ने गरी व्यवस्थापन गरिने स्पस्ट पारे । उनले जुन जिल्लाहरुमा कोरोना संक्रमणको अवस्था शुन्य भइसक्यो त्यहाँ खुकुलो गर्ने र जुन जिल्लामा बढेको छ त्यहाँ स्थानीय तहमार्फत अथवा जिल्लामार्फत कडाइका साथ जाने बताए ।

सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन गर्ने नगर्ने विषयमा उदार भएर निर्णय गर्ने स्थिति नरहेको समेत उनले बताए । यसमा पनि विज्ञहरुको सुझाव लिएर निर्णय गरिने उनले स्पस्ट पारे । अहिलेको स्थिति रहिरहेमा उदार बनेर सार्वजनिक यातायात खोल्ने, विद्यालय सञ्चालन गर्ने र उडान गरिहाल्ने अवस्था नरहेको उनको भनाइ थियो । यस्तै विदेशमा अलपत्र परेका व्यक्तिलाई मात्रै उद्धार गर्ने गरी हवाई उडानको व्यवस्था गरिने पनि उनले बताए ।

Logo