प्रदेश नं. २ मा कोरोना सङ्क्रमित पाँच हजार

प्रदेश नं. २ मा कोरोना सङ्क्रमित पाँच हजार

केन्द्रबिन्दु
0
Shares

धनुषा ।

प्रदेश नं २ को मुख्यमन्त्री कार्यालयका ६ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री कार्यालयका ६ कर्मचारीसहित धनुषाका ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणका क्रममा मुख्यमन्त्री कार्यालयका एक अधिकृत, एक ट्राफिक प्रहरी, दुई सवारी चालक र दुईजना कार्यालयकै अन्य कर्मचारी गरी ६ जनासहित ३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । अब प्रदेश नं. २ मा कूल संक्रमितको संख्या ५ हजार नाघेको छ ।

दुई दिन अघि गरिएको स्वाब सङ्कलनको नतिजा आइतबार राति आएपछि उनीहरुमा सङ्क्रमण पुष्टि भएको प्रजिअ भट्टराईले बताए । यता, सङ्क्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको आधार पत्ता लगाउने काम भइरहेको प्रजिअ भट्टराईको भनाइ छ । त्यस्तै प्रादेशिक अस्पताल जनकपुरका १४ जना कर्मचारीमा समेत कोरोना सङ्क्रमण भएको जनाइएको छ ।

यता पछिल्लो २४ घण्टामा प्रदेश २ मा १०३ जना सङ्क्रमित थपिएका छन् । पर्सामा ३८, धनुषा र महोत्तरीमा ३०/३०, बारामा तीन, सिरहा र सर्लाही एक/एक गरी प्रदेशभरि १०३ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार नौ पुगेको छ ।रासस

Logo