‘सरकारसँग दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमता छ’ : स्वास्थ्य मन्त्री (भिडियाेसहित)

‘सरकारसँग दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमता छ’ : स्वास्थ्य मन्त्री (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमता सरकारसँग रहेको बताएका छन् ।

सरकारले परिस्थितिलाई हेर्दै परीक्षणको दायरा बढाउने र त्यसको तयारी स्वरुप दैनिक १८ हजार परीक्षण गर्न सक्ने क्षमताको विकास गरेको मन्त्री ढकालले बताए । मन्त्री ढकालले सरकारले दैनिक १८ हजार जनासम्मको परीक्षण गर्न आवश्यक सबै सामग्रीलाई तयारी अवस्थामा राखेको बताए ।

६ लाख जनसंख्याको पीसीआर परीक्षण गर्ने तयारी सरकारले गरिरहेको समेत मन्त्री ढकालले बताए । अहिलेसम्म ३ लाख ७० हजार भन्दा बढीको पीसीआर परीक्षण भइसकेको र त्यसलाई ६ लाख पुर्याउने तयारी स्वरुप सरकार अगाडि बढेको बताए । उनले परीक्षण नगरेको कारणले रिपोर्टहरु कम भएको भन्ने कुरा सत्य नभएको बताए । तर सबै ठाउँमा पुगेर परीक्षण गरिएको दावि नगरिएको समेत उनले बताए । सरकारले बनाएको मापदण्ड अनुसार नै परीक्षण भएको उनको दावि छ ।

काठमाडौं उपत्यकामा संक्रमण फैलिएको सम्बन्धमा मन्त्री ढकालले सरकार नयाँ रणनीति अनुसार नियन्त्रण गर्ने गरी अगाडि बढ्न लागेको बताए । बाहिरि जिल्लाबाट उपत्यका भित्र आउने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाएर जाने लगायतका विषयलाई अगाडि बढाइने बताए । अहिले देखिएको संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउन सक्ने भएकाले सचेत रहन आग्रह गरे ।

सरकारले लागू गरेका नियम र मापदण्डहरुलाई पालना नगर्दा फेरी संक्रमणको स्थिति बढ्ने अवस्थामा देखिएको उनले बताए । लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको र संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढेको बताए । काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा संक्रमण देखिनुले यसलाई पुष्टि गरेको बताए ।

उनले संक्रमण बढी देखिएका जिल्लाहरुलई अनुगमन र मूल्याङ्कन गरी कडाई गर्ने र जिल्ला स्तरिय लकडाउनलाई कार्यान्वयन गर्ने कुरामा सरकारले जोड दिएको बताए । वीरगंजमा देखिएको संक्रमणको स्थिति हेर्दा त्यहाँ सिल गरेर जानुपर्ने र आवतजावतलाई पूर्णरुपमा बन्द गर्नुपर्ने भएको छ । त्यस्तै काठमाडौंका विभिन्न नाकामा स्वाब संकलन गरिएकाहरुमा पनि संंक्रमण देखिएकाले काठमाडौं भित्र आउने सबैलाई होम क्वारेन्टाइन अथवा स्थानीय क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिने बताए ।

उच्च जोखिम भएका स्थानमा नीतिगत निर्णयहरु मात्र गरेर नभई सामग्रीहरुको उपलब्धतामा समेत सरकारले ध्यान दिएको मन्त्री ढकालले बताए । जनशक्ति र अन्य व्यवस्थापनको काममा काबु भन्दा बाहिर जान नदिन सरकारले काम गरिरहेको बताए ।

 

Logo