‘कोरोना समुदायस्तरमा प्रवेश गरिसक्यो तर सरकारले स्वीकारेकाे छैन’ : विज्ञ (भिडियाेसहित)

‘कोरोना समुदायस्तरमा प्रवेश गरिसक्यो तर सरकारले स्वीकारेकाे छैन’ : विज्ञ (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको करिब १२० दिन लामो लकडाउन अन्त्य भइसकेको छ । यसरी नेपालमा भाइरसको संक्रमण नियन्त्रणमा नआउँदै गरिएको लकडाउनको अन्त्यले आम जनतामा अन्यौलता, भ्रम र त्रास देखिदै गएको छ । १२० दिन लामो लकडाउनमा घरमा नै बसेर सन्त्रासमा रहेका सर्वसाधारण लकडाउनको अन्त्यसँगै अब जीवन पहिले कै रुपमा फर्कियो, अब कोरोना भाइरसको जोखिम छैन, कोरोना भए पनि विदेश तथा भारतबाट आएका मानिसहरुमा मात्रै देखिएको छ, समुदायस्तरमा कोरोना फैलिएको छैन भन्ने मानिसहरुमा भ्रम फैलिएको पाइएको छ ।

मानिसहरुमा यसरी विभिन्न भ्रम फैलिरहेको अवस्थामा सरकारले एकाएक लकडाउन अन्त्य गर्दा कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएर झनै भयावह स्थिति आउने खतरा बढेको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

लकडाउन अन्त्य भएसँगै मानिसको दैनिकी बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ । लकडाउनका बेलामा विभिन्न प्रतिबन्ध लागू गरिएकोमा अब ती पालना गर्नु नपर्ने भएको छ । योसँगै लकडाउन सुरु भएपछि आ–आफ्नो घर पुगेकाहरु उपत्यका लगायतका देशका मूख्य शहरमा फर्कने क्रम बढेको छ । यद्यपि, अझै पनि कोरोना भाइरसको संक्रमणको जोखिम भने कम भएको छैन । अहिले पनि दिनहूँ सयौँको संख्यामा संक्रमितहरु फेला परी नै रहेका छन् । अब संक्रमणको जोखिम उच्च हुँदै गएको छ । त्यसैले सरकार तथा सर्वसाधारणहरले नै सावधानी अपनाउनुको विकल्प नरहेको विज्ञहरुले बताएका छन् ।

करिव एक सातादेखि देशभरका विभिन्न स्थानिय तहमा कोरोना भाइरसको जोखिम बढेको भन्दै धमाधम सिल गरिरहेका छन् । पछिल्लो समय समुदायमा कोरोनाको संक्रमण फैलिएको आंशकामा विभिन्न स्थानीय निकायले जोखिमयुक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन् । पर्साको वीरगञ्जमा कोरोना भाइरस संक्रमण समुदाय स्तरमा नै फैलिएको भन्दै गत शनिबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको थियो । त्यहाँका सम्पूर्ण पसल र उद्योेग व्यवसायसहित अत्यावश्यक सेवा बाहेकका सबै गतिविधि गर्न रोक लगाएको छ ।

त्यस्तै, सप्तरी जिल्ला प्रशासन कार्यालयले पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत बिहीबार देखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । यता, दैलेखको ठाटीकाँध गाउँपालिकामा पनि जिल्ला प्रशासन कार्यालय दैलेखले अनिश्चितकालीन निषेधाज्ञा जारी गदै गाउँपालिका प्रवेश गर्ने सबै नाका बन्द गरिएको छ भने भेटघाट, जमघट र आवतजावत् पूर्णरुपमा निषेध गरिएको थियो ।

 

Logo