उपत्यकाको अवस्था केही हप्ताभित्रै भयावह हुन सक्ने विज्ञहरुको चेतावनी

उपत्यकाको अवस्था केही हप्ताभित्रै भयावह हुन सक्ने विज्ञहरुको चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चिकित्सकहरुले कोभिड १९ रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने बताएका छन् ।

सरकारले कोभिड १९ रोकथामका लागि गरेको कामको प्रकृति हेर्दा केही हप्ता भित्र नै संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने संकेत देखिएको चिकित्सकहरुले बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले अहिलेसम्म कोभिड १९ को संक्रमण रोगको रुपमा नदेखिएको तर समुदायस्तरमा फैलिदै गए रोगको रुपमा देखा पर्न सक्ने बताए । कोभिड रोकथामका लागि सरकारले गरेको कामलाई हेर्दा अवको केही दिन भित्रै संक्रमण रोगको रुपमा देखा पर्ने निश्चित भएको डा. दिक्षितले बताए । उनले सरकारले पीसीआर परीक्षणलाई बढाउँदै लैजानु पर्नेमा घटाउँदै लगेको र समुदायमा संक्रमण देखिदै गएकाले स्थिति भयावह बन्न सक्ने चेतावनि दिए ।

इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनिले संक्रमण एक ठाउँबाट अर्को ठाउँमा जाने अवस्थाबाट जोगाउनु पर्ने बताए । संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाई गर्नु पर्ने र काठमाडौं उपत्यकासहित सीमा क्षेत्रमा रहेका बस्तिमा परीक्षणको दायरा बढाउनु पर्ने बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा अनुप बाँस्तोलाले मानिसहरुको आवागमनलाई व्यवस्थित बनाउन नसके काठमाडौं उपत्यकाको अवस्था केही हप्ता भित्रै भयावह हुन सक्ने बताए । उनले जोखिम युक्त ठाउँबाट आएका मानिसहरु क्वारेन्टाइनमा नबस्दा नै समुदायस्तरमा संक्रमण फैलिएको बताए । संक्रमण रोकथामको उपाय लकडाउन मात्रै नभएकाले आवश्यक सावधानी सबैले अपनाउनु पर्नेमा डा. बास्तोलाले जोड दिए ।

सरकारले लकडाउन खोलेपछि मानिसहरुको आवागमन पनि बढेको छ । जसले गर्दा समुदायस्तरमा संक्रमणका केसहरु देखिएका छन् । तर पीसीआर परीक्षणलाई अझै बढाएको देखिदैन । जसले गर्दा संक्रमण समुदायस्तरमा भित्रभित्रै फैलिदै जाने र स्थिति थप जटिल बन्न सक्ने जोखिम बढेको छ ।

Logo