पर्साका सांसद प्रदिप यादवसहित थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

पर्साका सांसद प्रदिप यादवसहित थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज ।

पर्सा जिल्ला क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रदीप यादवलाई कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गए राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यादवले शुक्रबार बिहान परीक्षणका लागि स्वाब दिएका थिए । उनका अंगरक्षक र चालकमा पनि कोरोना देखिएको बताइएको छ । नयाँ थपिएका मध्ये ३ महिलासहित १५ वर्षदेखि ६८ वर्ष उमेर समूहका ६४ जना रहेका छन् ।

सांसद यादवले आफूलाई कोरोना संक्रमण भएको आफ्नो फेसबुकमार्फत जानकारी गराएका हुन् । उनले लेखेका छन्, ‘पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । आफूलाई आइसोलेट गरेर आराममा छु ।’

उनले लेखेका छन्,
आदरणीय दाजुभाइ दिदिबहिनी ,

आज मात्र सम्मानीय प्रधानमन्त्रीज्युलाई मैले पत्र प्रेषित गर्दै, बीरगन्जमा बढ्दो कोरोना संक्रमणको अवस्थाका बारेमा अवगत गराउनुका साथै मैले बीरगन्ज क्षेत्रमा ५ सय शैयाको अस्पताल, बिज्ञ टोली पठाउने, समुदायमा जाचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन र सीमामा आवतजावत रोक्न लागायत माग राखेको छु । उताबाट सकारात्मक संकेत पनि प्राप्त भएको छ । माननीय स्वास्थ्य मन्त्रीज्युसँग पनि सम्वाद गरेको छु । यसै क्रममा मैले आफ्नो पिसिआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउँन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । अफुलाई आइसुलेट गरेर अहिले आराममा छु । आआफ्नो घरभित्र आत्मअनुशासन कायम गर्दै सुरक्षित रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मास्क लगाइ ननिस्किन र सामाजिक दुरी कायम राख्न सबैमा यतिबेला बडा गम्भीरतापूर्वक म आग्रह गर्न चाहन्छु । कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनताको सेवामा चाडै फर्किने छु ।

यसअघि बिहीबार वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनले पनि सामाजिक संजालबाटै यसको जानकारी दिएका थिए ।

Logo