‘एकैदिन १० हजार ७६८ नमुना परीक्षण, २२४ जना संक्रमित’ : स्वास्थ्य मन्त्रालय

‘एकैदिन १० हजार ७६८ नमुना परीक्षण, २२४ जना संक्रमित’ : स्वास्थ्य मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एकैदिन ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एक जनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-११ का ५६ वर्षिय पुरुषको साउन १५ गते मृत्यु भएको हो । मुटुको रोगी ती पुरुषको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । साउन ६ गते कोरोना पुष्टि भएपछि उनलाई ७ गते गण्डक अस्थायी कोरोना अस्पताल भर्ना गरिएको थियो । यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर-१६ का ३५ वर्षका पुरुषको साउन १५ गते नै गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साउन ५ गते नीजि क्लिनिक हुँदै तराई अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि गण्डक अस्पताल भर्ना भएका थिए । १३ गते अस्पताल भर्ना भएका उनको नमुना संकलन गर्दा १५ गते नै कोरोना पुष्टि भएको थियो ।

यस्तै वीरगञ्ज-२ का ६५ वर्षिय अर्का पुरुषको पनि साउन १५ गते कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए । उनको मृत्यु पछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यस्तै वीरगञ्ज ११ स्थायी घर भइ ललितपुरको थसिखेल ५ बस्ने महिलाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको प्रवक्ता डा. गौतमले बताए । मधुमेहका विरामी ती महिला साउन ६ गते अस्पताल भर्ना भएकी थिइन् । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि स्टार अस्पतालमा भर्ना भएकी थिइन् । साउन ६ गते कोरोना पुष्टि भएपछि उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

सरकारले शुक्रबार पीसीआर विधिबाट १० हजार ७ सय ६८ नमुना परीक्षण गरेको छ । जसमा २ सय २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । उपत्यका छिर्ने विभिन्न नाकाहरुमा समेत परीक्षण गरिएको छ । साँगा, फर्पिङ र थानकोट गरी १० हजार २ सय ५ जनाको संकलन गरी परीक्षण गरिएको छ । अहिलेसम्म ३ हजार ७ सय १३ जना रिपोर्ट आएकोमा २५ जनामा पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए ।

अहिले देशभरीका आइसोलेसनमा ५ हजार ३ सय १६ जना रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा २ सय २२, प्रदेश नम्बर २ मा २ हजार ३४, बागमती प्रदेशमा ५ सय ७२ र गण्डकी प्रदेशमा ३ सय २४ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ८५, कर्णाली प्रदेशमा २ सय ९६ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ८३ जना उपचाररत रहेका प्रवक्ता डा. गौतमले बताए ।

शुक्रबार १ सय ५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा ८ सय ३१, प्रदेश नम्बर २ मा ३ हजार १ सय १, बागमती प्रदेशमा ५ सय २६ र गण्डकी प्रदेशमा १ हजार २ सय ४४ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ७१, कर्णाली प्रदेशमा १ हजार ७ सय १८ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ८ जना डिस्चार्ज भएका छन् ।

अहिले देशभरीका क्वारेन्टिनमा १२ हजार १ सय ११ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ७७, प्रदेश नम्बर २ मा १ हजार ७ सय ३१, बागमती प्रदेशमा ९ सय १६ र गण्डकी प्रदेशमा ३ हजार १ सय ६५ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ६ सय ७४, कर्णाली प्रदेशमा ४ सय ९४ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ५४ जना रहेका छन् । ६ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo