‘कोरोना भाइरस समुदायस्तरमा प्रवेश गरिसक्यो तर सरकारले स्वीकारेकाे छैन’ : विज्ञ (भिडियाेसहित)

‘कोरोना भाइरस समुदायस्तरमा प्रवेश गरिसक्यो तर सरकारले स्वीकारेकाे छैन’ : विज्ञ (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको करिब १२० दिन लामो लकडाउन अन्त्य भइसकेको छ । यसरी नेपालमा भाइरसको संक्रमण नियन्त्रणमा नआउँदै गरिएको लकडाउनको अन्त्यले आम जनतामा अन्यौलता, भ्रम र त्रास देखिदै गएको छ । १२० दिन लामो लकडाउनमा घरमा नै बसेर सन्त्रासमा रहेका सर्वसाधारण लकडाउनको अन्त्यसँगै अब जीवन पहिले कै रुपमा फर्कियो, अब कोरोना भाइरसको जोखिम छैन, कोरोना भए पनि विदेश तथा भारतबाट आएका मानिसहरुमा मात्रै देखिएको छ, समुदायस्तरमा कोरोना फैलिएको छैन भन्ने मानिसहरुमा भ्रम फैलिएको पाइएको छ ।

मानिसहरुमा यसरी विभिन्न भ्रम फैलिरहेको अवस्थामा सरकारले एकाएक लकडाउन अन्त्य गर्दा कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएर झनै भयावह स्थिति आउने खतरा बढेको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

लकडाउन अन्त्य भएसँगै मानिसको दैनिकी बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ । लकडाउनका बेलामा विभिन्न प्रतिबन्ध लागू गरिएकोमा अब ती पालना गर्नु नपर्ने भएको छ । योसँगै लकडाउन सुरु भएपछि आ–आफ्नो घर पुगेकाहरु उपत्यका लगायतका देशका मूख्य शहरमा फर्कने क्रम बढेको छ । यद्यपि, अझै पनि कोरोना भाइरसको संक्रमणको जोखिम भने कम भएको छैन । अहिले पनि दिनहूँ सयौँको संख्यामा संक्रमितहरु फेला परी नै रहेका छन् । अब संक्रमणको जोखिम उच्च हुँदै गएको छ । त्यसैले सरकार तथा सर्वसाधारणहरले नै सावधानी अपनाउनुको विकल्प नरहेको विज्ञहरुले बताएका छन् ।

करिव एक सातादेखि देशभरका विभिन्न स्थानिय तहमा कोरोना भाइरसको जोखिम बढेको भन्दै धमाधम सिल गरिरहेका छन् । पछिल्लो समय समुदायमा कोरोनाको संक्रमण फैलिएको आंशकामा विभिन्न स्थानीय निकायले जोखिमयुक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन् । पर्साको वीरगञ्जमा कोरोना भाइरस संक्रमण समुदाय स्तरमा नै फैलिएको भन्दै गत शनिबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको थियो । त्यहाँका सम्पूर्ण पसल र उद्योेग व्यवसायसहित अत्यावश्यक सेवा बाहेकका सबै गतिविधि गर्न रोक लगाएको छ ।

त्यस्तै, सप्तरी जिल्ला प्रशासन कार्यालयले पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत बिहीबार देखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । यता, दैलेखको ठाटीकाँध गाउँपालिकामा पनि जिल्ला प्रशासन कार्यालय दैलेखले अनिश्चितकालीन निषेधाज्ञा जारी गदै गाउँपालिका प्रवेश गर्ने सबै नाका बन्द गरिएको छ भने भेटघाट, जमघट र आवतजावत् पूर्णरुपमा निषेध गरिएको थियो ।

लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ५ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा अहिलेसम्म ३ सय ९१ जना ,भक्तपुरमा ५६ जना र ललितपुरमा ९२ जना सक्रमित भएका छन् । पछिल्ला केही दिनदेखि उपत्यकामा दैनिक ५० जना भन्दा बढी कोरोना संक्रमण देखिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौं उपत्यका जस्तो उच्च जनघनत्व बढी भएको ठाउँमा संक्रमण फैलिएमा जटिल समस्या आउन सक्ने भएकाले सबैले सचेत हुनु पर्ने बताएका छन् । पछिल्लो समय भारतबाट कामका सिलसिलामा उपत्यका प्रवेश गर्नेहरूमा संक्रमणको जोखिम उच्च देखिएको जनाइएको छ । निर्देशक डा.पाण्डेका अनुसार उपत्यकामा देखिएका कोरोनाका संक्रमितमध्ये ३५० स्थानीय छन् । उनीहरू मध्ये २१० पुरुष र बाँकी महिला छन् ।

यसरी कोरोनाको जोखिम बढ्दै गएकाले काठमाडौं महानगरपालिकाले उपत्यकामा विभिन्न पर्व मनाउँदा भिड नगर्न आग्रह गरेको छ भने यता कोरोना भाइरस जोखिम बढे भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि सेवाग्राहीको भीडभाड कम गर्न नयाँ नियम ल्याएको छ । सामाजिक दूरी कायम गर्न भन्दै कार्यालयले साउन १८ गतेदेखि लागू हुने गरी नयाँ नियम ल्याएको हो । नयाँ नियम अनुसार नागरिकता प्रमाणपत्र लगायत सेवा लिन आइतबार काठमाडौं महानगरबासीले कार्यालयबाट सेवा पाउने भएका छन् ।

त्यस्तै सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन् भने मंगलबार फेरि काठमाडौं महानगरबासीले सेवा पाउने भएका छन् । बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिकाले र बिहीबार पुन काठमाडौं महानगरबासीले सेवा पाउँछन् । शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउने भएका छन् ।

शान्ति सुरक्षा र कानुन बमोजिम हुने मुद्दाका लागि भने शनिबारबाहेक कार्यालय खुल्नेछ तथा तोकिएका बार मिलाएर मात्र सम्बन्धित सेवाग्राही कार्यालयमा आउन पनि प्रशासनले आग्रह गरेको छ । यसरी स्थानिय तहहरु लगायत समेत सजकताको लागि सर्वसाधारणलाई समेत आग्रह गरेका छन् भने उपत्यकाका विभिन्न स्थानिय तहले माइकिङ समेत गरेर नागरिकलाई सचेत गराउने काम गरिरहेका छन् । यसरी पछिल्ला केही दिनदेखि लगातार रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । यसले गर्दा सरकारलाई देशभर भाइरस नियन्त्रण झनै चुनौती र जोखिम बढ्दै जाने विज्ञहरुको भनाइ रहेको छ ।

मानिसहरुमा कोरोनाको सन्त्रास हट्दै गएको पछिल्लो समय घर बाहिर निस्कँदा भौतिक दुरी कायम नगरेको तथा मास्क लगाए पनि चिउँडो र नाक मुनी लगाउने तथा एक्लै हिँड्दा मास्कको प्रयोग गर्ने तर एक आपसमा कुरा गर्दा मास्क खोलेर कुराकानी गर्ने प्रचलनको थालनी सुरु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले बताए ।

उनका अनुसार लकडाउन अन्त्य भएसँगै कोरोना रोकथामको जिम्मेवारी अब आम नागरिकको हातमा आएको छ । लकडाउन अन्त्यको घोषणा गर्नु भन्दा अगाडि सरकारले यो काम गर्दा, यस्तो स्थानमा जाँदा यसरी सजकता अपनाउनु पर्छ भनेर नियम बनाउनु तथा जनतालाई बुझाउन सक्नुपर्थ्यो । तर त्यस्तो भएन, लकडाउन अन्त्यसँगै कोरोना समुदायस्तरमा फैलिसकेको हामीले बारम्बार सरकारलाई सुझाव दिएको तर सरकारले समुदायमा कोरोना फैलिएको स्वीकार नगरेर विज्ञका कुरालाई समेत बेवस्ता गरेको बताए ।

सरकारले जनतालाई कोरोना भाइरस समुदायस्तरमा नै फैलिसकेको र सबै सचेत बन्ने कुरा प्रष्ट नपारी लकडाउन अन्त्य गर्दा कोरोना संक्रमणको जोखिम झन् उच्च भएको छ । मरासिनीले भने, ‘अहिले भारतसँग सीमा जोडिएका क्षेत्रमा इपिसेन्टर बन्दै गएको छ । अब यो क्षेत्रबाट क्रमिक रुपमा अन्य जिल्लामा समेत फैलिन सुरु गरेको छ । यसरी अहिले सबै सार्वजनिक यातायात समेत सञ्चालनमा आएकाले उपत्यकामा समेत भयावह हुने स्थिती बढेको छ ।’

त्यस्तै, जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डेले पनि समुदायस्तरमा संक्रमण फैलिएकाले अझ जोखिम बढेको बताएका छन् । केहि दिन सुस्ताएको कोरोना संक्रमितको ग्राफ फेरि निरन्तर एकाएक बढ्दै गएको छ । सरकारले परीक्षणको दर न्यून भएको तर पनि संक्रमण भने बढ्दै गएको छ । सरकारले कन्ट्याक्ट ट्रेसिंङ तथा संबेदनशील स्थानहरुमा परीक्षणको गति बढाउने हो भने थप संक्रमितहरुको पहिचान हुने र भाइरस नियन्त्रणमा सहज हुन सक्ने उनले बताएका छन् ।

उनका अनुसार पछिल्लो समयमा तराईका बिभिन्न जिल्लामा कोरोना संक्रमण बढिरहेको अवस्थामा सुरक्षित हुनको लागि काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुको संख्या उल्लेख्य रुपमा बढेको छ । यसले गर्दा काठमाडौं उपत्यका थप जोखिमयुक्त बनेको छ । ४० लाख जनसंख्या रहेको कचौरा जस्तो काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायमा फैलियो भने हाम्रो स्वास्थ्य प्रणालीले धान्न सक्दैन । त्यसैले सरकारले आवागमनमा कडाई गर्नु पर्ने उनले बताए ।

सरकारले सीमा क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीय नागरिकको संयुक्त गस्ती बढाएर अबैध आवतजावतलाई नियन्त्रण गर्नु जरुरी रहेको छ । सिंगो देशमा ब्यापक परीक्षण गरेर रेड, एल्लो र ग्रीन जोन निर्क्यौल गर्ने हो भने कोरोना संक्रमण नियन्त्रण गर्ने रणनीति बनाउन धेरै सजिलो हुने उनको भनाइ रहेको छ । समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएकाले अहिले नै नेपालीलाई स्वदेश ल्याउने तथा नेपालमा अड्केका बिदेशी तथा नेपालीलाई अर्को ट्रान्जिटसम्म पुर्याउन बाहेक अन्तर्राष्ट्रिय उडान खोल्नु हुदैन । उनले भने, ‘कोरोनाको जोखिम नेपालमा उच्च रुपमा बढ्दै जाने जोखिम बढेकाले महामारी नियन्त्रण गर्नको लागि सरकार, मिडिया तथा आम नागरिकको एकता र संयुक्त प्रयास आवश्यक भएको छ । नत्र भाइरसले महामारीको रुप लिने संकेत गरेको छ ।

दुई जना संक्रमित भेटिंदा लकडाउन भएको र १९ हजार संक्रमित पुग्दा लकडाउनको अन्त्य हुँदा जनताको मनमा भ्रम पैदा भएको हुन सक्छ । लकडाउन अन्त्य भन्ने शब्दले पनि जनताको मनमा अब कोरोनाको जोखिम छैन भन्ने धारणा बनेको छ । अब व्यापक रुपमा समुदायस्तरमा परीक्षणको दायरा बढाएर त्यहाँको स्थिति पत्ता नलगाएसम्म केहि अझै केही भन्न नसकिने उनको भनाइ रहेको छ ।

त्यस्तै, सरुवा रोग विशेषज्ञ डा.अनूप सुवेदीले हामीले सरकारलाई बारम्बार समुदाय स्तरमा कोरोना फैलिसकेको छ भनेर सहज र सर्तक रहन आग्रह गरेका छौं । तर यो कुरालाई सरकारले गम्भिर रुपमा नलिएकाले पनि अहिले कुनै पनि ट्राभल ट्रान्जिट नभएका तथा कोरोना संक्रमितको सम्पर्कमा नरहेकोमा पनि भाइरस देखा परेकाले अझ जोखिम बढेर भाइरस नियन्त्रण भन्दा बाहिर जान थालेको बताए ।

उनका अनुसार अब हामी कोरोना भाइरस समुदायस्तरमा प्रवेश गरेको छ कि छैन भनेर बहस गर्नु भन्दा पनि कोरोना सबै समुदायमा देखा प¥यो । सबै सजक र सर्तक कसरी रहने र भाइरसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आम नागरिक र सरकार आफै जिम्मेवार हुनु पर्छ । उनले भने, ‘कोरोना भाइरस नेपालमा समुदाय स्तरमा छैन भन्नै मिल्दैन । अब सरकारले समुदायमा कोरोना फैलिसक्यो भनेर स्वीकार गर्नु पर्छ अनि मात्रै परिक्षण गर्न सहज हुन्छ । अहिले काठमाडौं उपत्यकामा बस्ने मानिसहरुको परिक्षणमा समस्या भएको छ । मानिसहरुमा ज्वरो नआएको तर अन्य लक्षण देखा परेको हुन सक्छ । तर अहिले कोरोना परिक्षण गर्न ज्वरो आएको हुनै पर्ने भएकाले पनि कोरोना जोखिम बढीरहेको उनको भनाइ रहेको छ ।

गर्मीमा भन्दा जाडो महिनामा रुघाखोकीका बिरामी बढी हुन्छन् । त्यस समयमा कोरोना हो कि रुघाखोकी भनेर छुट्याउनका लागि धेरैले परीक्षण गर्न चाहन्छन् । त्यसैले अब समुदायस्तरमा कोरोना परीक्षणको दायरा बढाउनका लागि सरकारले तयार हुने पर्ने उनको सुझाव रहेको छ ।

Logo