काठमाडौंमा जोखिम बढ्यो, सतर्क रहन विज्ञको सुझाव (भिडियोसहित)

काठमाडौंमा जोखिम बढ्यो, सतर्क रहन विज्ञको सुझाव (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोभिड–१९ को जोखिम बढेको भन्दै गृह मन्त्रालयले रातिको समयमा उपत्यका प्रवेशमा रोक लगाएको छ ।

जोखिम बढेकाले दिउसोको समयमा समेत विहिबारदेखि उपत्यका प्रवेशमा कडाइ गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यक र ढुवानीका सवारीबाहेक आवागमन पूर्णरुपमा रोक लगाउन प्रशासन कार्यालयलाई विशेष निर्देशन जारी गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मुलुकका विभिन्न जिल्लाबाट उपत्यका आउने यात्रुको प्रवेश नाकामा परीक्षण गर्दा कोभिड–१९ को सङ्क्रमण देखिएकाले कडाइ गर्न निर्देशन दिएको उल्लेख छ ।

यस्तै काठमाडौँ उपत्यकाबाहेकका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गर्दै मन्त्रालयले अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमनका लागि पास जारी नगर्नसमेत भनेको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई उक्त निर्देशन जारी गरिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा बिहिबार मात्रै ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार काठमाडौंमा ४१, भक्तपुरमा ५ जना र ललितपुरमा २ जनामा संक्रमण देखिएको हो । उपत्यकामा गत बुधबार १५ जना र मंगलबार ५३ जना थपिएका थिए । यो सँगै अब काठमाडौंमा कोरोना संक्रमितको संख्या ५७३ पुगेको छ । जसमा काठमाडौंमा ३९१ जना, ललितपुरमा ९२ र भक्तपुरमा ५६ जना रहेका छन् ।

कोरोनाको जोखिम बढेको भन्दै काठमाडौं महानगरपालिकाले पर्व मनाउँदा भिड नगर्न आग्रह गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गृह प्रशासनले असुरक्षित रूपमा उपत्यका प्रवेश गर्नेलाई नियन्त्रण नगर्ने हो भने उपत्यकाको अवस्था झन जोखिम हुने बताए । अहिलेसम्मको प्रतिवेदनलाई आधार मान्ने हो भने उपत्यका बाहिरबाट प्रवेश गर्नेहरूमै बढी संक्रमण देखिएको छ ।
काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले जात्रा पर्व मनाउने सन्दर्भमा उपत्यका नगरपालिका फोरमको एउटै आवाज हुनुपर्ने धारणा राखे ।

यसैबीच कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको बैठकले कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । बिहीबार बसेको सीसीएमसी निर्देशक समिति बैठकले लक डाउन खुकुलो भएपछि संक्रमण जोखिम रहेका ठाउँको अवस्था विश्लेषण गरी पीसीआर परीक्षणको दायरा बढाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आवश्यकता अनुसार संक्रमण देखिएको ठाउँ सिल गरेर पीसीआर परीक्षणको दायरा बढाइने बताए । भाद्र १ गतेबाट सुरु हुने सेवा क्षेत्र सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड तयार पार्न पनि बैठकले सम्बन्धित मन्त्रालयहरुलाई जिम्मेवारी दिएको छ । पछिल्लो समय काठमाडौं उपत्यका प्रवेश गर्नेहरुको पीसीआर परीक्षण गरिहेको सरकारले अब प्रवेश विन्दुमा नै क्वारेन्टिन व्यवस्थापन गर्ने भएको छ ।

काठमाडौं प्रवेश गर्ने नाकामा गरीएको परीक्षणमा संक्रमण देखिन थाले पनि प्रवेश नाकामै क्वारेन्टिनको व्यवस्था गरिने उनले बताए । बैठकले लकडाउन खुकुलो भएको केही दिन यताको परीक्षण नतिजा विश्लेषण गरी आगामी रणनीति तय गर्ने निष्कर्ष पनि निकालेको छ । स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूर्ण रुपमा पालना नभएका कारण संक्रमणको जोखिम बढेको सीसीएमसीले ठहर गरेको छ । यस्तो अवस्थामा संक्रमणलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ । बिहिबार मात्रै २७४ जना संक्रमित थपिएका थिए । त्यस्तै गत बुधबार २१० जना थपिएका थिए भने मंगलबार ३११ जना थपिएका थिए । गत सोमबार १३९ जना थपिएकोमा आइतबार १३० जना थपिएका थिए ।

कोरोना संक्रमितको ग्राफ एकाएक बढेको भन्दै जनस्वास्थ्यविज्ञहरुले पनि थप सतर्कता अप्नाउन आग्रह गरेका छन् । जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डे सरकारले कन्ट्याक्ट ट्रेसिंग तथा संबेदनशील स्थानहरुमा परीक्षणको गति बढाउने हो भने थप संक्रमितहरुको पहिचान हुने बताउँछन् ।

भिडियो :

 

Logo