वीरगंज महानगरपालिकाका मेयरलाई कोरोना संक्रमण पुष्टि

वीरगंज महानगरपालिकाका मेयरलाई कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई कोरोना संक्रमण भएको छ । उनले फेसबुकमार्फत् आफूलाई संक्रमण पुष्टि भएको र उपचार गराइरहेको जानकारी दिएका छन् ।

आफूले नागरिकको सेवामा खटिंदा आफैंलाई कोरोना भएको बताउँदै वीरगंजमा समुदायमै कोरोना पुगिसकेको भन्दै नगरवासीलाई सर्तक रहन र नआतिन अनुरोध पनि गरेका छन् । उनले लेखेका छन् :

आदरणीय दाजु भाई तथा दिदी बहिनीहरु ।

विगत पाँच महिनादेखि कोरोना भाइरसको संक्रमणबाट वीरगंजवासीलाई वचाउन मैले हर संभव प्रयासहरु गरे । संघीय र प्रदेश सरकारको दायित्व अन्तर्गत रहेको क्वारेन्टिन, आइसोलेशन सेन्टर, कोभिड अस्पतालको व्यवस्थापन र संचालनको जिम्मेवारी ती निकायहरुले नलिएपछि मैले नै लिएर नागरिकको जीवन रक्षाको लागि अथक प्रयत्न गरें । वीरगंजलाई वचाउन पिसिआर मेशिन, परिक्षणका लागि आवश्यक पर्ने किटहरुको समेत व्यवस्थापन गरे । क्वारेन्टिन, आइसोलेशन र कोभिड अस्पतालमा रहेका संक्रमितहरु सहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाईकर्मीको खाना र बस्नेको व्यवस्था मिलाएँ । वीरगंजलाई ग्रिन जोन बनाउने उदेश्यका साथ एकघर एक परिक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगंजमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ ।

तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै कोरोनालाई जित्ने छु ।

पछिल्लो पटक कोरोना संक्रमणबाट वीरगंज आक्रान्त वनेको छ, वीरगंजलाई वचाउन अग्रमोर्चामा रहनु हुने स्वास्थ्यकर्मी, महानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज, संचारकर्मी, विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षाकर्मीको प्रयासलाई धन्यवाद दिन चाहन्छु । अब स्थानीय स्तरबाट मात्र कोरोना नियन्त्रण गर्ने अवस्था देखिदैन तसर्थ वीरगंजवासी दाजुभाई दिदी वहिनीको जीवन रक्षाको लागि संघीय र प्रदेश सरकारले तत्काल ठोस योजनाका साथ अघि बढन आग्रह गर्दछु ।

साथै कोरोना संक्रमणको यो घडिमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण महानगरवासी दाजु भाई दिदी बहिनीमा अपिल गर्दछु । कोभिड १९ का विरुद्ध महानगरपालिकाले लिएका नीति प्रति साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभाव प्रति हार्दिक नमन । मैले कोरोना संक्रमणको लडाई जितेर पुन तपाईको सेवामा आउने प्रतिवद्धता जाहेर गर्दछु ।

Logo