अब चार हजार ५०० मै कोरोना परीक्षण, पाँच घण्टाभित्र ‘रिपोर्ट’

अब चार हजार ५०० मै कोरोना परीक्षण, पाँच घण्टाभित्र ‘रिपोर्ट’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले शुल्क लिएर कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्न अनुमति दिएसँगै विध म्यानेजमेन्टद्वारा सञ्चालित कोभिड–१९ प्रयोगशालाले कोरोना भाइरस परीक्षण गर्ने तयारी गरेको छ ।

सरकारबाट अनुमति पाएसँगै उक्त प्रयोगशालाले आज बिहीबारदेखि औपचारिक रुपमा कोरोनाको परीक्षण थाल्ने सञ्चालक विके भण्डारीले जानकारी दिए । ललितपुरको कुपण्डोलमा रहेको उक्त ल्याबले दैनिक चार हजारभन्दा बढी नमूना परीक्षण गर्ने र पाँच घण्टामै ‘रिपोर्ट’ उपलब्ध गराउने विध म्यानेजमेन्टले जनाएको छ । प्रयोगशालामा पाँच थान अटोमेटिक आरएनए एक्ट्याक्सन मेशिन जडान गरिएको छ ।

प्रयोगशालाका प्रमुख भण्डारीले कोरोना परीक्षणको दायरा फराकिलो पारी छिटोभन्दा छिटो सङ्क्रमित पहिचान गर्ने सरकारको यस अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको बताए । उनले सरकारले दिएको नमूना तथा स्वेच्छाले परीक्षण गर्न आउने व्यक्तिको कोरोना परीक्षण गरिने जानकारी दिए।

सरकारले केही सरकारी तथा निजी प्रयोगशालालाई पाँच हजार ५०० शुल्क लिएर कोरोना परीक्षणको अनुमति दिएको भए पनि सो प्रयोगशालाले चार हजार ५०० मै कोरोना परीक्षण गर्ने जनाएको छ । “विपद्को समयमा सकिन्छ भने सस्तो मूल्यमा नै परीक्षण गरौँ भन्ने सोचका साथ काम गरेका हौँ”, प्रयोगशालाका प्रमुख भण्डारीले भने ।

कोभिड–१९ को परीक्षणका लागि जनतालाई छिटोछरितो एवं सर्वसुलभ सेवा उपलब्ध गराउने सरकारको यस प्रयासमा आफ्नोतर्फबाट यथासम्भव सहकार्य गर्ने र सहयोग पुर्याउने उद्देश्य रहेको विध म्यानेजमेन्टद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । पछिल्लो समय सरकारले लकडाउन केही खुकुलो बनाउँदै गएपछि मुलुकभर कोरोना सङ्क्रमणको जोखिम झन् बढेको छ । जसले गर्दा कोरोना परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने आवश्यकता बढेर गएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले विध म्यानेजमेन्टलाई गत असार १२ गते कोभिड–१९ परीक्षण सम्बन्धी प्रयोगशाला स्थापनाका लागि आशयपत्र दिएको थियो । आशयपत्र पाएको एक सातामा नै आफूहरुले प्रयोगशाला स्थापना गरिसकेको प्रमुख भण्डारीले बताए । यस अघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीले प्रयोगशालाको स्थलगत निरीक्षण गरेका थिए ।

सरकारले यसअघि स्टार अस्पताल र केएमसी लगायत सात वटालाई कोरोना परीक्षणको अनुमति दिइसकेको छ । धुम्रबाराहीस्थित ह्याम्स अस्पतालले पनि सःशुल्क कोभिड–१९ परीक्षणको अनुमति पाएको छ । ह्याम्सले शुल्क लिएर आजदेखि कोरोना परीक्षण थालिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले केहीदिन अघि मन्त्रालयमा आयोजित नियमित ‘प्रेस ब्रिफिङ’मा सरकारी तथा निजी प्रयोगशालामा दैनिक १८ हजार नमूना परीक्षण गर्ने गरी तयारी भइरहेको बताए ।रासस

Logo