सङ्क्रमण फैलन नदिन विराटनगरमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

सङ्क्रमण फैलन नदिन विराटनगरमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

विराटनगर महानगरपालिकाले कोभिड–१९ को सङ्क्रमण समुदायमा फैलिन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न अत्यावश्यक सेवाबाहेक अन्य कार्य आजदेखि स्थगित गर्ने भएको छ ।

महानगरपालिका प्रमुख भीम पराजुलीको अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बैठकले नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिशबाहेक अन्य सबै सेवा स्थागित गर्ने निर्णय गरेको हो ।

बैठकले नगरक्षेत्रभित्र सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन वृद्धि हुँदै गएकाले सचेतनाका साथ स्वास्थ्य एवं सुरक्षामा आवश्यक कडाइ गरिने भएको छ । उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग आवश्यक छलफल एवं सुझाव अनुसार नगरभित्र थप कडाइ गर्ने निर्णय गरिएको हो । बैठकले भारतीय सीमावर्ती क्षेत्रबाट अवैध आगमनलाई नियन्त्रण गर्ने, सिटी रिक्सा सवारीमा सामाजिक दूरी कायम गर्ने, चोक, बजारमा भीडभाड गरेर लाग्ने पसल व्यवसायलाई नियन्त्रण गर्ने, अनिवार्य मास्क लगाउनुपर्ने तथा सामाजिक दूरी कायम राख्नु पर्ने निर्णय गरिएको छ ।

यसैगरी अन्य निर्णयहरुमा भीडभाड हुनबाट पूर्णरुपमा बन्देज लगाउने, पिसिआर परीक्षणको दायरा बढाउन थप पहल गर्ने, क्वारेन्टिन स्थल थप गर्ने, आइसोलेशनलाई थप व्यवस्थित बनाउन प्रदेश सरकारलाई अपिल गर्ने, आकस्मिक स्वास्थ्य सुरक्षामा थप ध्यान दिनाका साथै सभासमारोह गर्न नदिने लगायतको निर्णय भएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिए।

कोरोना भाइरसको सङ्क्रमणबाट सतर्क रहन अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नगरवासीलाई अनुरोध गरिने प्रमुख पराजुलीले बताए। नगरभित्र केही समस्या परेको खण्डमा नजीकैको वडा कार्यालयका पदाधिकारी या महानगरको स्वास्थ्य शाखासँग समन्वय गर्न महानगरले आग्रह गरेको छ ।

मोरङमा २२ जनामा सङ्क्रमण देखियो

प्रदेश नं १ मा आइतबार ३१ जनामा सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २२ र इलाममा नौ जनामा सङ्क्रमण देखिएको छ । मोरङको विराटनगरका तीन महिलासहित २२, इलामको इलाम नगरपालिकामा आठ र माईमा एक जनामा पोजेटिभ देखिएको छ । प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ९२२ पुगेको छ । यस्तै प्रदेशमा आज १२ जना सङ्क्रमितहरु निको भई घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचाररत आठ महिलासहित १२ जना घर फर्केका छन् । प्रदेशमा निको भई घर फर्कने सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ ।रासस

Logo