नेपालमा प्रदेश अनुसार सक्रिय सङ्क्रमित, कुन प्रदेशमा कति ?

नेपालमा प्रदेश अनुसार सक्रिय सङ्क्रमित, कुन प्रदेशमा कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

देशभरमा बुधबार थप १०० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितका सङ्ख्या पाँच हजार ३७० पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका २८ वटा प्रयोगशालामा तीन हजार हजार ७७९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। योसँगै सङ्क्रमितको जम्मा सङ्ख्या १८ हजार ९४ पुगेको छ ।

प्रदेश अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश १ मा ११९, प्रदेश २ मा एक हजार ८७८, वाग्मती प्रदेशमा ४२०, गण्डकी प्रदेशमा ३७९, प्रदेश ५ मा ३४५, कर्णाली प्रदेशमा २९० र सुदूरपश्चिम प्रदेशमा एक हजार ९२७ रहेको छ । प्रवक्ता डा गौतमका अनुसार हाल क्वारेन्टिनमा २० हजार ८४२ जना रहेका छन् । कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको २०७ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १२ हजार ६८४ रहेको छ । जम्मा सङ्क्रमितमध्ये ७० दशमलव एक प्रतिशत निको भएको उनले बताए । कोभिड–१९ को कारण एक चिनियाँ नागरिकसहित दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ६१ हजार ४१० छ । त्यसमा सक्रिय प्रयोगकर्ता ८१ हजार ८२ छन् । बुधबार मात्रै ८० जनाले इन्ट्री गरेकामा रेड जोनमा एक जना झापाका व्यक्ति परेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेबसाइट हेर्ने र भाइबर ग्रुपमा जोडिनेको सङ्ख्या उल्लेख्य रहेको छ । त्यस्तै सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढिरहेका तीन जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् । हाल एक जना पनि सङ्क्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, धनकुटा, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सङ्क्रमित भेटिएका जिल्लामा सुनसरी, झापा, मोरङ, सप्तरी, धनुषा, पर्सा, बारा, काठमाडौँ, सर्लाही, चितवन, बाग्लुङ र लमजुङ रहेका छन् । त्यस्तै स्याङ्जा, बाँके, बर्दिया, कालिकोट, डोटी र दैलेख र बझाङमा पनि नयाँ सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

विभिन्न क्षेत्रका व्यक्तिले कोभिड–१९ को परीक्षण कम हुँदा सङ्क्रमित कम भेटिएको भने पनि तथ्याङ्कले केस पनि कम भइरहेको देखाएको छ । सरकारले गत असार १० मा छ हजार ८२८ जनाको परीक्षण गर्दा ६१९ अर्थात् नौ दशमलव दुई प्रतिशत सङ्क्रमित देखिएकामा अहिले जम्मा परीक्षण गरिएकामा दुई दशमलव छ प्रतिशतलाई मात्रै सङ्क्रमण पुष्टि भएको छ ।

बन्दाबन्दी खुकुलो भए पनि नागरिकले आवश्यक सुरक्षा अपनाउनु पर्नेमा प्रवक्ता गौतमको भनाइ छ । विभिन्न देशमा बन्दाबन्दी नगरे पनि सर्तकता नअपनाउँदा त्यसको नकारात्मक असर देखिएको उनले औँल्याए। उनले भने, “त्यसैले आवश्यक पर्दा मात्रै घर बाहिर निस्कने र निस्कँदा पनि अनिवार्य मास्क लगाउनुपर्छ ।”

Logo