बर्दियामा कोरोना समुदायमा फैलिएको आशङ्का

बर्दियामा कोरोना समुदायमा फैलिएको आशङ्का

केन्द्रबिन्दु
0
Shares

बर्दिया ।

बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिबार १० जनामा सङ्क्रमण पुष्टि भएसँगै बर्दियामा कोरोना सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । १९२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तर शनिबार मात्रै बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मि, कर्मचारी गरी १० जनामा कोरोना सङ्क्रमण थप पुष्टि भएको छ ।

ठाकुरबाबा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीमा कोरोना देखिएसँगै कोरोना सङ्क्रमण समुदायमा फैलिएको आशङ्का गरिएको छ । सङ्क्रमण देखिएकामध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्मी क्वारेन्टिन व्यवस्थापनमा खटिएका थिए ।

नगरपालिका क्षेत्रमा खटिएका १० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय र नौवटै वडा कार्यालयबाट हुने आकस्मिकबाहेक सबै सेवा तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ । यस्तै नगरपालिकामा हुने सबै किसिमका सभा, बैठक, भेला, गोष्ठी अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए।

अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, बजार क्षेत्रमा ननिस्कन तथा निस्कनै परे अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम राख्न नगरपालिकाले अह्वान गरेको बताएको छ । क्वारेन्टिनमा सङ्क्रमण पुष्टि भएका सबै जना नगरपालिका क्षेत्रमा खटिएका हुन् । उनीहरुको पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको हो । सङ्क्रमितको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा झण्डै सम्पर्कमा रहेकाको १०० जनाको पिसिआर परीक्षण गर्नुपर्ने देखिएको छ ।

आज बिहानदेखि नगरपालिका क्षेत्रका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न शुरू गरिएको छ । नगरपालिकमा सङ्क्रमितको सङ्ख्या २४ योभन्दाअघि नै पुगेको छ ।रासस

Logo