नेपालमा कोरोना संक्रमित घटेकै हो कि परिक्षण घटेको हो ?

नेपालमा कोरोना संक्रमित घटेकै हो कि परिक्षण घटेको हो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड–१९ संक्रमण नियन्त्रणका लागि नेपालमा लकडाउन जारी छ । नेपालमा दुई जना मात्रै संक्रमित हुँदा सरकारले गत चैत ११ देखि लकडाउनको घोषणा गरेको थियो । तर, अहिले दैनिक ठूलो संख्यामा संक्रमितहरु देखिएका छन् ।

गत जेठ २८ मा बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३० देखि जोर विजोर प्रणालीमा सवारी साधन चलाउन दिने निर्णय गरेसँगै लकडाउन खुकुलो भएको थियो भने असार १ बाट सरकारी कार्यालय सुचारु गर्ने निर्णय गरेको थियो । यसरी लकडाउन खुकुलो भएसँगै नेपालमा संक्रमित ह्वात्तै बढेको छ ।

सरकारी कार्यालय सुचारु भएको दिन असार १ देखि २० गतेसम्म देशभर संक्रमितको संख्या १० हजार नजिक पुगेको थियो ।

हालसम्म नेपालमा २५ वटा प्रयोगशालामा आरटी पिसिआर परिक्षण विधिबाट २ लाख ९८ हजार ८ सय २९ परिक्षण गरिएको छ । जसमा यो सामाग्री तयार पार्दासम्म १७ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ । कोरोनाकै कारण ३९ जनाको ज्यान गएको छ । त्यस्तै ११ हजार २४९ जना निको भएका छन् भने, हाल ६ हजार ५६ जना बिरामीहरुको उपचार भइरहेको छ ।

हाल देशभर २४ हजार ५ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् । नेपालमा संक्रमित मध्ये ८७ प्रतिशत पुरुषहरु रहेका छन् भने जम्मा १३ प्रतिशत मात्र महिलाहरु संक्रमण छन् । त्यस्तै नेपालमा उमेर समुह अनुसार संक्रमितहरुको विवरण हेर्दा युवाहरुमा बढी देखिएको छ । ० देखि १० वर्ष उमेर समुहमा ६३८ जना, ११ देखि २० वर्ष उमेर समुहमा ३,५१२ जना, २१ देखि ३० वर्षका ६,४३८ जना, ३१ देखि ४० वर्षका ३,९६३ जना, ४१ देखि ५० वर्षका १,७३३ जना, ५१ देखि ६० वर्षका ६२७ जना, ६१ देखि ७० वर्षका २०३ जना, ७१ देखि ८० वर्षका ५१ जना, र ८० वर्ष भन्दा माथिका १२ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, असार २० गतेपछि भने संक्रमितको संख्या कम हुँदै गइरहेको अवस्था छ ।

असार १ मा ४५१ जनामा संक्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको थियो । त्यसपछिका २० दिनमा संक्रमणको संख्याले तीव्र गति लिएको थियो । नेपालमा असार १ देखि २० गते सम्म ९ हजार २ सय ८० संक्रमित भएका थिए । असार १ देखि संक्रमणको संख्याले लिएको तिब्र गति २० गते पछिदेखि भने ब्रेक लागेको देखिन्छ । नेपालमा साच्चिकै कोरोना घटेको हो या परिक्षणको दायरा घटाएको हो ? भन्ने प्रश्न धेरैको मानसपटलमा खेलिरहेको छ ।

पछिल्लो १० दिनको आरटी पिसिआर परिक्षणको दायरा र संक्रमितको संख्या यस्तो छ । असारमा २१ मा ४,७१० परिक्षण गरिएका मध्ये २९३ संक्रमित भेट्टिएका थिए । त्यस्तै २२ मा ४,७२१ परिक्षणमध्ये १८० संक्रमित, २३ मा ६,१३३ परिक्षण २०४ संक्रमित, २४ मा ४,६९६ परिक्षण २५५, २५ गतेमा ४,५८८ परिक्षण १०८ संक्रमित, २६ मा ४,८०६ परिक्षण ११८ संक्रमित, २७ गते मा ३,६४८ परिक्षण ७० संक्रमित, २८ मा ३,९१६ परिक्षण ८२ संक्रमित, २९ गतेमा ५,८५६ परिक्षणमा १४४ संक्रमित, ३० गते ४,३६१ परिक्षण ११६ संक्रमित, ३१ मा ५०९० परिक्षण ११६ संक्रमित भएका छन् । यस्तै आज ४,९८१ जनाको परिक्षण गर्दा १६७ जनामा संक्रमण देखिएको छ ।

Logo