नेपालमा कोरोनाबाट थप एक सहित ३९ जनाको मृत्यु

नेपालमा कोरोनाबाट थप एक सहित ३९ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका ३६ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार उनी दाईको दाहसंस्कार गर्न केही समय अघि भारतको मुम्बई गएका थिए । उनको दाईको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । भारतबाट फर्किएपछि स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा रहेकै अवस्थामा स्वास्थ्यमा समस्या आएको थियो । असार २९ गते स्वास प्रस्वासमा समस्या आएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन नमुना संकलन गरी हेटौडा प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको थियो । आइसियुमा उपचारकै क्रममा रहेका उनको बुधबार दिउसो निधन भएको हो । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

बधुबार नेपालमा थप १ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । जसमा ११ हजार २५ जना संक्रमित निको भएर घर फर्किएका छन् । बुधबार मात्रै ६ सय ९७ जना डिस्चार्ज भएको उनले बताए । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ६ हजार १ सय १३ जना उपचाररत रहेका छन् । प्रवक्ता डा. देवकोटाका अनुसार प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा १ हजार ८ सय ९९, बागमती प्रदेशमा ४ सय ६६ र गण्डकी प्रदेशमा ३ सय ६९ जना उपचाररत रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ६ सय ५१, कर्णाली प्रदेशमा ३ सय २०, र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ६८ जना रहेका छन् । बुधबार विभिन्न २६ वटा प्रयोगशालामा ५ हजार ९० वटा पीसीआर परीक्षण भएका छन् । आजसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको पीसीआर परीक्षण भएको छ । देशभरी २४ हजार ५सय २७ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै काठमाडौं उपत्यकामा आज ७ जना संक्रमित थपिएका छन् । काठमाडौंका ७ जनामा कोरोना संक्रमण भएको हो । योसहित काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३६५ पुगको छ। हालसम्म काठमाडौं जिल्लामा २४४ जना, ललितपुर जिल्लामा ७६ जना र भक्तपुर जिल्लामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Logo