काठमाडौंमा रेबिजविरुद्धको खोप लगाउनेको संख्या वृद्धि

काठमाडौंमा रेबिजविरुद्धको खोप लगाउनेको संख्या वृद्धि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक झण्डै डेढ सय रेबिजविरुद्धको खोप लगाउन आइरहेका छन् । बन्दाबन्दी खुकुलो भएसँगै अस्पतालमा सामान्य अवस्थामा जत्तिकै सङ्ख्यामा बिरामी आइरहेको अस्पतालले जनाएको छ ।

सामान्य अवस्थामा दैनिक डेढ सयदेखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए। बन्दाबन्दीको शुरुआती दिनमा यो सङ्ख्या दैनिक झण्डै एक सय थियो । उनका अनुसार अहिले काठमाडौँ उपत्यका मात्रै नभएर बाहिरका टाढाटाढाका जिल्लाबाट समेत बिरामी आइरहेका छन् ।

कोभिड–१९ को उपचारका लागि तोकिएको अस्पतालले अहिले अधिकांश रोगको उपचार अरू अस्पतालमा सारेको छ । प्राविधिक रुपमा कठिन हुने भएकाले रेबिजविरुद्धको उपचार भने अन्यत्र सार्न नसकिएको अस्पतालले जनाएको छ । अस्पतालको एउटा कुनाबाट खोप सेवा सञ्चालन भइरहेको निर्देशक डा राजभण्डारीले बताए । उनले भने, “कतिपय समस्याको उपचार यही अस्पतालमा मात्रै हुने भएकाले बिरामी टाढाटाढाबाट समेत आइरहेका छन् ।”

अस्पतालमा कोभिड–१९ को परीक्षण भइरहेको छ । दैनिक सात सयदेखि एक हजार तीन सय जनासम्म परीक्षणका लागि आइरहेका छन् । अस्पतालले भने आवश्यक भए/नभएको हेरेर मात्रै परीक्षण गर्दै आएको छ । अस्पतालमा पिसिआर परीक्षणका लागि आएकामध्ये २० देखि २५ प्रतिशतको मात्रै परीक्षण भइरहेको छ । अस्पतालले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि आवश्यक श्यया पनि बढाइरहेको जनाइएको छ ।रासस

Logo