कसरी सम्भव भयो , एकै दिन १,७०५ जना सङ्क्रमणमुक्त ? निको हुनेको कूल संख्या कति ?

कसरी सम्भव भयो , एकै दिन १,७०५ जना सङ्क्रमणमुक्त ? निको हुनेको कूल संख्या कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ७०५ रहेको छ । यसरी निको हुनेको सङ्ख्या नेपालमा कोभिड–१९ सङ्क्रमण देखिए यताकै सबैभन्दा उच्च हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले आजसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार २९४ पुगेको बताए। कूल कोरोना सङ्क्रमितमध्ये ६० दशमलव सात प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १४४ कोभिड–१९ सङ्क्रमित थपिएका छन् । उनले विभिन्न २५ प्रयोगशालामा गरिएका पाँच हजार ८५६ नमूना परीक्षणमा १४४ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १६ हजार ९४५ पुगेको छ ।

प्रदेशगतरुपमा आज कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा छ, प्रदेश नं २ मा ४१, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा आठ, प्रदेश नं ५ मा १४, कर्णाली प्रदेशमा ४६ र सुदूरपश्चिम प्रदेशमा १६ जना रहेका छन् ।

देशभरका क्वारेन्टिनमा हाल २३ हजार ४७० रहेका छन् । आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ६१३ रहेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ रहेको छ ।

हालसम्म प्रदेश नं १ मा एक जनाको पनि कोभिड–१९ का कारण मृत्यु भएको छैन भने प्रदेश नं २ मा चार, बागमती प्रदेशमा नौ र गण्डकी प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । त्यस्तै, प्रदेश नं पाँचमा १० जना, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा छ जनाको मृत्यु भइसकेको छ ।

प्रवक्ता डा गौतमले हालसम्मको तथ्याङ्क अनुसार विश्वभर एक करोड ३२ लाख कोरोना सङ्क्रमित भएका छन् । कोरोनाले पाँच लाख ७५ हजारको निधन भइसकेको छ । नेपालमा ५०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा महोत्तरी, रौतहट, कैलाली र बाजुरा रहेका छन् । त्यस्तै, हाल सङ्क्रमित नरहेको जिल्ला धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच रहेका छन् ।

काठमाडौँ उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढिरहेकाले अस्पताल, बैंक लगायतका स्थान सजगता गरिने प्रवक्ता गौतमले बताए । उनले जिल्ला जिल्लामा क्वारेन्टिनमा रहेका व्यक्ति घर फर्किएकाले त्यहाँ रहेका सामग्री र फोहरको उचित व्यवस्थापन गर्नुपर्ने बताए। उहाँले भन्नुभयो, “फोहर यत्रतत्र नफाल्न र उचित व्यवस्थापनका लागि हामी सबैलाई अनुरोध गर्दछौँ ।”

Logo