गोकर्णेश्वरमा कोरोना सङ्क्रमणबाट निधन भएका पुरुष बस्ने टोल सिल

गोकर्णेश्वरमा कोरोना सङ्क्रमणबाट निधन भएका पुरुष बस्ने टोल सिल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना सङ्क्रमणबाट निधन भएका गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको घर रहेको टोल सिल गरिएको छ ।

मृतकको घर गल्ली सिल गरी उनको सम्पर्कमा आएका १३ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि आइतबार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला टेकुमा पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिकृष्ण उपाध्यायले जानकारी दिए। ५४ वर्षीय पुरुषको निधन भइसकेपछि गरिएको परीक्षणमा कोरोना रहेको पुष्टि भएको हो । मधुमेह, उच्च रक्तचाप लगायत रोगबाट पीडित भई उपचारका क्रममा निधन भएपछि पिसिआर परीक्षण गरिएको हो ।

कोरोनाबाट नगरपालिकामा निधन भएको यो पहिलो घटना भएको जनाइएको छ । नगरपालिकाको वडा नं ५ मा पनि विदेशबाट फर्किएका एक जनामा कोरोना देखिएपछि हाल उपचार भइरहेको नगरपालिकाले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मूलपानीस्थित सिर्जनाटोलका अर्का एक जनामा पनि कोरोना पुष्टि भएको नगर अस्पताल मूलपानीका प्रमुख डा विप्लब अधिकारीले बताए । मूलपानीका सङ्क्रमित पनि विदेशबाट फर्किएको जनाइएको छ ।

मूलपानी र जोरपाटीका मानिसमा कोरोना पोजेटिभको जानकारी पाएपछि यस क्षेत्रमा असार पहिलो सातादेखि बढेको चहलपहलमा कमी आएको छ । यसअघि नेपाल मेडिकल कलेज अत्तरखेलमा भर्ना भएका दुई जनामा असार १५ गते कोरोना पोजेटिभ भेटिएको थियो । पोजेटिभ भेटिएका गोकर्णेश्वर–७ शिवचोककी १९ वर्षीया महिला र शङ्खरापुर नगरपालिका–४ फेदीकी ३९ वर्षीय महिलाको भने ट्राभल हिस्ट्री नभएको गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताए।

नगरपालिकाकै वडा नं ६ तामाङ गुम्बा नजिकैका एक महिलामा पनि न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममा पिसिआर परीक्षण गर्दा पोजेटिभ भेटिएको शाखाले जनाएको छ । नगर क्षेत्रका सबै सङ्क्रमितलाई हाल विभिन्न अस्पतालको आइसोलेशनमा राखी उपचार भइरहेको छ ।

सङ्क्रमितको नजिकको परिवारका ११ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला टेकुमा पठाइएको छ । स्वाब सङ्कलन गरिएका सबैलाई नगरपालिकाका विभिन्न क्वारेन्टिनमा राखिएको जनाइएको छ । नगरपालिकामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या बढ्न थालेको खबर फैलिएपछि नगर क्षेत्रमा चहलपहल घट्न थालेको छ ।रासस

Logo