नक्कली भाञ्जा बनाएर मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकसहित १२ पक्राउ

नक्कली भाञ्जा बनाएर मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकसहित १२ पक्राउ

केन्द्रबिन्दु
0
Shares

चितवन ।

कानूनमा मिर्गौला प्रत्यारोपणका लागि आफ्नै नातेदार चाहिन्छ । अन्य व्यक्तिको मिर्गौला प्रत्यारोपण गरेमा मानव बेचबिखन अन्तर्गत मुद्दा चल्छ । उक्त मुद्दा आकर्षित हुने गरी ललितपुरका एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरेको पाइएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नक्कली भाञ्जा बनाएर ती व्यक्तिले नाता नपर्ने अर्कैको मिर्गौला प्रत्यारोपण गरेको पाइएको हो ।

उक्त घटनामा अस्पतालका चिकित्सक, ललितपुर र चितवनका प्रशासन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र प्रहरीको समेत संलग्नता रहेको देखिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

ललितपुरका ती बिरामीको चितवनस्थित कलेज अफ मेडिलक साइन्सेज शिक्षण अस्पताल भरतपुर (पुरानो मेडिकल कलेज) मा ०७६ साल जेठ २७ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । सो घटनाका विषयमा त्यही साल असोज २ गते चिठीमार्फत आएको बेनामे उजुरीका आधारमा ब्युरोले अनुसन्धान थालेको थियो ।

शुरुमा उजुरी दिने व्यक्ति सम्पर्कमा नआउँदा उसलाई लुकाएर भारत पुर्याएको छ कि भन्ने कोणबाटसमेत प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानकै चरणमा उनी प्रहरीको सम्पर्कमा आए । त्यसपछि लगातार छ महिना लगाएर प्रहरीले अनुसन्धान गर्दा कैफियत भएको निष्कर्ष निकालेको एक प्रहरी अधिकृतले बताए।

केही हप्ता अघि किटानी जाहेरी नै परेपछि ब्युरोले अनुसन्धानको घेरा फराकिलो पारेको हो । प्रहरी स्रोतका अनुसार जाहेरवालाले आफूलाई प्रलोभनमा पारेर ललाइफकाइ गरी मिर्गौला झिकेको आरोप लगाएका छन् । शुरुमा आठ जनाविरुद्ध जाहेरी परे पनि सोधपुछका क्रममा अन्य व्यक्तिको समेत नाम खुलेपछि १२ जनाविरुद्ध अनुसन्धान थालिएको छ ।

“अनुसन्धानमा नक्कली कागजात बनाएर विदेशमा भएको व्यक्तिको कागजातमा कीर्ते गरी मिर्गौला प्रत्यारोपण गरेको पाइयो”, प्रहरी उपरीक्षक थपलियाले भने, “प्रारम्भिक अनुसन्धानमा योजनाबद्धरुपमा काम गरेको पाइएको छ, अन्य अनुसन्धानपछि खुल्दै जान्छ ।”

प्रहरीका अनुसार उनका वास्तविक भाञ्जा भने हाल विदेशमा रहेको पत्ता लागेको छ । उनको नागरिकता लगायत कागजातमा भाञ्जा बनाएर ओखलढुङ्गाका २७ वर्षीय एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको छ । भाञ्जाको कागजातमा उनको फोटो टाँसेर कीर्ते गरिएको पाइएको छ ।

ललितपुर महानगरपालिका वडा नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले नक्कली कागजातमा नाता प्रमाणित गरिदिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका कर्मचारीले नक्कली कागजातमा नागरिकता रुजु गरेका थिए ।रासस

Logo