आज कुन प्रदेशमा कति थपिए कोरोना संक्रमित ?

आज कुन प्रदेशमा कति थपिए कोरोना संक्रमित ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ८२ कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विभिन्न २५ प्रयोगशालामा गरिएका तीन हजार ९१६ नमूना परीक्षणमा ८२ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यससँगै कोरोना संक्रमितको कूल सङ्ख्या १६ हजार ८०१ पुगेको छ ।

प्रदेशगतरुपमा आज कोरोना संक्रमण पुष्टि भएका मध्ये प्रदेश नं १ मा चार, प्रदेश नं २ मा २०, वाग्मती प्रदेशमा १४, गण्डकी प्रदेशमा १५, प्रदेश नं ५ मा दुई, कर्णाली प्रदेशमा २१ र सुदूरपश्चिम प्रदेशमा ६ जना रहेका छन् ।

मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार देशभरका क्वारेन्टाइनमा हाल २३ हजार ७८४ रहेका छन् । आइसोलेशनमा रहेका कोरोना संक्रमितको सङ्ख्या आठ हजार १७४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या १४७ रहेको छ । योसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या आठ हजार ५८९ रहेको छ । कूल कोरोना संक्रमितमध्ये ५१ दशमलव एक प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ रहेको छ ।

प्रवक्ता गौतमले हालसम्मको तथ्याङ्क अनुसार विश्वभर एक करोड २८ लाख ६३ हजार ७२४ कोरोना सङ्क्रमित भएका छन् । कोरोनाले पाँच लाख ६८ हजार ५२ को निधन भइसकेको छ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पिसिआर परीक्षण गर्ने मुलुकमा अगाडि रहेको छ । भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तानभन्दा अगाडि रहेको छ । पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले नेपालमा हालसम्मका कोरोना सङ्क्रमितमध्ये शुन्य दशमलव तीन प्रतिशतमा मात्र केही लक्षण देखिएको बताए ।

ती लक्षणमध्ये ज्वरो आउने, खोकी लाग्ने मात्र छ, अन्य गम्भीर खाले बिरामी नभएको पाइएको बताए । हालसम्म मृत्यु भएका मध्ये ०.२१ प्रतिशत पर्छ । यी मध्ये २४ जनामा दीर्घरोगीको समस्या रहेको देखिएको छ । खासगरी ५० वर्ष भन्दामाथि उमेरका व्यक्तिको निधन भएको पनि डा पाण्डेले बताए।

उपत्यकामा ३४७ कोरोना सङ्क्रमित

बाहिर जिल्लामा सङ्क्रमित कम भएका र काठमाडौँ उपत्यकाका तीन जिल्लामा सङ्क्रमित बढेकाले चिन्तित तुल्याएको उनले बताए। यीमध्ये धेरैजसो विदेशबाट आएका र कतिपय व्यक्ति यात्रा नभएको पनि पाइएकाले उपत्यकाका १२ स्थानमा नमूना सङ्कलन गरी हालसम्म तीन हजार परीक्षण गर्दा जम्मा तीन जनामा सङ्क्रमण पुष्टि भएको देखिन्छ । यी तीन जनाको पनि ‘ट्राभल हिस्ट्री’ नदेखिएकाले समुदायमा सङ्क्रमण हुन सक्ने भएकाले व्यापकरुपमा समुदायमा परीक्षण गरिनु पर्ने अवस्था रहेको डा पाण्डेले बताए ।

निर्देशक पाण्डेले दोस्रो चरणमा असार २५ गतेदेखि ४५ हजार नमूना लिइएको र तीमध्ये पाँच हजार काठमाडौँबाट लिइने जानकारी दिए। मुख्यगरी सेवा क्षेत्र बैंक, मालपोत कार्यालय, कर कार्यालय, स्वास्थ्य केन्द्र लगायत स्थलबाट नमूना लिने योजना छ । सङ्क्रमितको सङ्ख्या तीव्ररुपमा घटिरहे पनि पूर्णरुपमा घटेको हो कि हैन भनेर पत्ता लगायत परीक्षणको दायरा बढाउनु पर्ने निर्देशक पाण्डेको भनाइ छ ।रासस

Logo