मुलुकभर दैनिक कोरोना संक्रमितको संख्या न्यून, उपत्यकामा निरन्तर बढ्दो

मुलुकभर दैनिक कोरोना संक्रमितको संख्या न्यून, उपत्यकामा निरन्तर बढ्दो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमण पुष्टि भएदेखि रोकथाम तथा नियन्त्रणको लागि सरकारले करिब चार महिनादेखि लकडाउन जारी राखेको छ । यसरी गरीएको लकडाउनको दुई महिनासम्म कोरोना संक्रमितको संख्या न्यून थियो । तर पछिल्लो दुई महिनामा भारतबाट नेपाल आउने नेपालीहरुको संख्या निरन्तर उकालो लाग्दा देशभर संक्रमितको संख्या पनि तीव्र रुपमा बढीरहेको छ ।

सरकारले पनि भाइरस रोकथाम तथा नियन्त्रणको लागि आरडीटी र पीसीआर दुबै विधिबाट परीक्षण गर्दै आएको थियो । तर पछिल्लो समय आरडीटी परीक्षण विश्वसनीय नभएको भन्दै व्यापक आलोचना गरिएको थियो । सरकारले केहि समय अगाडिदेखि आरडीटी परीक्षणलाई रोकेर पीसीआर परीक्षण मात्र गर्दै आएको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ देखि दैनिक १० हजारको संख्यामा पीसीआर परीक्षण गर्ने प्रतिबद्धता जनाएका थिए । तर मन्त्री ढकालले भने अनुसार असार २७ गतेसम्म पनि उनको प्रतिबद्धता पूरा हुन सकेन ।

पछिल्लो एक महिनाको अवधिमा कोरोना संक्रमण बढेर दैनिक ५ सय भन्दा माथि पुगेको थियो भने दुई साता अगाडि  एकदिनमै ७ सय ७१ जनामा समेत कोरोना पोजेटिभ देखिएको थियो । पछिल्लो एक साताको अवधिमा कोरोना संक्रमितको संख्या भन्दा डिस्चार्ज हुनेको संख्या बढी छ ।

कोरोना संक्रमण घट्दो तथ्यांक नेपालीका लागि खुसीको कुरा हो । मुलुकभर संक्रमणको दर घट्दै गएको तथ्यांक सार्वजनिक भए पनि परीक्षणको दर पनि न्यून रहेको छ । त्यसैले देशभरको तथ्यांक न्यून देखिनुको कारण परीक्षणका दायरा कम भएर हो कि भन्ने प्रश्न पनि उठेको छ । शुक्रबार ४ हजार ८ सय पीसीआर परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको थियाे । शनिबार ३ हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण हुँदा ७० जनामा संक्रमण पुष्टि भएको छ । जबकी दैनिक ४ देखि ५ सयको हाराहारीमा संक्रमण पुष्टि हुँदा परीक्षण पनि करिब ७ देखि ८ हजारको संख्या हुने गरेको थियो ।

देशभर कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहे पनि काठमाडौं उपत्यकामा भने संक्रमितको संख्या ह्वातै बढेको छ । यसरी बढ्दै जाँदा आजसम्म उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुुरमा ३ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार मात्रै काठमाडौं उपत्यकाका तीन जिल्लामा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २८, भक्तपुरमा १ जना र ललितपुरमा १३ जनामा कोरोना संक्रमण देखिएको थियो । शनिबार काठमाडौंमा ३ जनामा कोरोना पुष्टि भएको छ भने ललिपुर र भक्तपुरमा भने संक्रमण शुन्य रहेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २ सय २७, ललितपुरमा ७० र भक्तपुरमा ४४ जना संक्रमित रहेका छन् । यसरी तीन जिल्लामा कुल संक्रमितको संख्या ३ सय ४१ पुगेको छ । जसमध्ये ललितपुरमा दुई र काठमाडौंका ३ जनाले ज्यान गुमाइ सकेका छन् भने भक्तपुरमा अहिलेसम्म कसैको ज्यान गएको छैन । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै सबै व्यापार व्यवसाय सञ्चालनमा आएकाले जोखिम उच्च हुने खतरा भएको विज्ञहरुको भनाइ छ । लकडाउन खुकुलो भएसँगै बाहिरी जिल्ला र विदेशबाट आउने मानिसबाट समेत काठमाडौं उपत्यकामा जोखिम बढी रहेको छ ।

गत बुधबार नेपालका विभिन्न २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ५५ जनामा कोरोना संक्रमण देखिएको थियो । मन्त्रालयका प्रवक्ता डा. गौतमले बुधबार २ सय ५३ जना संक्रमित डिस्चार्ज भएको बताएका थिए । बुधबार ४ हजार ६ सय ९६ जनाको कोरोना परीक्षण गरिएको थियो ।

त्यस्तै, गत बिहिबार १ सय ८ जना कोरोना संक्रमित थपिएका थिए भने ७ हजार ८ सय ९१ जना संक्रमित निको भएर घर फर्किएका थिए । बिहिबार पीसीआर विधिबाट ४ हजार ५ सय ८८ जनाको कोरोना परीक्षण भएको थियो । शुक्रबार नेपालमा १ सय १८ जना नयाँ संक्रमित थपिएका थिए । मन्त्रालयका अनुसार शुक्रबार देशका विभिन्न २५ वटा प्रयोगशालामा भएको परीक्षणमा १ सय १८ जना संक्रमित थपिएका हुन् । शुक्रबार मात्रै काठमाडौं उपत्यकामा ४२ जना संक्रमित थपिएका छन् । शुक्रबार पीसीआर विधिबाट ४ हजार ८ सय ६ जनाको कोरोना परीक्षण गरिएको थियो ।

त्यस्तै, शनिबार ७० जना नयाँ संक्रमित थपिएका छन् । शनिबारसम्म कूल संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । देशभर आइसोलेसनमा हुनेको संख्या ८ हजार २ सय ३९ जना रहेका छन् । शनिबार ४ सय ३१ गरी आजसम्म ८ हजार ४ सय ४२ जना डिस्चार्ज भएका छन् ।

सरकार पछिल्लो केही दिन यता कोरोनाको पीसीआर परीक्षण घटाउँदै लगेको छ । हरेक दिन साढे ४ हजारको औषतमा परीक्षण गरिरहेको सरकारले शनिबार ३ हजार ६ सय ४८ जनाको मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण गरेको छ । आजसम्म पीसीआर विधिबाट २ लाख ७९ हजार ५ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा २४ हजार ९७ जना रहेका छन् ।

एकै दिन ३ जनाको मृत्यु

काठमाडौंका २ सहित नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौं ठेगाना भएका २ र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको हाे। मृत्यु हुनेहरुमा काठमाडौं महानगरपालिका १० शंखमुलका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु थियो । फोक्सोमा पानी जमेको र मृगौला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएका ती पुरुषमा १७ गते स्वाव संकलन गरी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

यस्तै, सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ वर्षका पुरुषकाे पनि २५ गते नै निधन भएको छ । असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका ती पुरुषमा २२ गते कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

Logo