नेपालमा कोरोना : पहिलो ५ महिनामा ६ हजार, पछिल्लो २३ दिनमै संक्रमित १० हजार नजिक

नेपालमा कोरोना : पहिलो ५ महिनामा ६ हजार, पछिल्लो २३ दिनमै संक्रमित १० हजार नजिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जारी लकडाउन खुकुलो भएसँगै नेपालमा २३ दिनमै संक्रमित ह्वात्तै बढेको छ । नेपालमा दुई जना मात्रै संक्रमित हुँदा सरकारले गत चैत ११ देखि लकडाउनको घोषणा गरेको थियो । तर, अहिले दैनिक ठूलो संख्यामा संक्रमितहरु देखिएको छ । यति हुँदा पनि सरकारले प्रभावकारी योजना बनाउन सकेको छैन । जेठ २८ मा बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३० देखि जोर विजोर प्रणालीमा सवारी साधन चलाउन दिने निर्णय गरेको थियो भने असार १ बाट सरकारी कार्यालय सुचारु गर्ने निर्णय गरेको थियो । सरकारी कार्यालय सुचारु भएको दिन असार १ यतादेखि २३ दिनमा देशभर संक्रमितको संख्या १० हजार नजिक पुगेको छ । त्यस्तै असार १० मा संक्रमितको संख्या १० हजार नाघेको थियो ।

गत शुक्रबार हालसम्मकै धेरै ७ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो । हालसम्म नेपालमा २५ वटा प्रयोगशालामा आरटी पिसिआर परिक्षण विधिबाट २ लाख ६१ हजार ८ सय ६१ परिक्षण गरिएको छ । जसमा यो सामाग्री तयार पार्दासम्म १६ हजार १ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । ती संक्रमित भएका मध्ये अधिकांश आइसोलेशनमा रहेकाहरुमा पुष्टि भएको हो । कोरोनाकै कारण ३५ जनाको ज्यान गएको छ । त्यस्तै ७ हजार ४ सय ९९ जना निको भएका छन् भने, हाल ८ हजार ६ सय ३४ जना बिरामीहरुको उपचार भइरहेको छ ।

हाल देशभर २५ हजार ७ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् । नेपालमा संक्रमित मध्ये ८७ प्रतिशत पुरुषहरु रहेका छन् भने जम्मा १३ प्रतिशत मात्र महिलाहरु संक्रमण छन् । त्यस्तै नेपालमा उमेर समुह अनुसार संक्रमितहरुको विवरण हेर्दा युवाहरुमा बढी देखिएको छ । ० देखि १० वर्ष उमेर समुहमा ६०२ जना, ११ देखि २० वर्ष उमेर समुहमा ३ हजार ३६८ जना, २१ देखि ३० वर्षका ६ हजार ०२९ जना, ३१ देखि ४० वर्षका ३ हजार ६९७ जना, ४१ देखि ५० वर्षका १ हजार ६२८ जना, ५१ देखि ६० वर्षका ५९५ जना, ६१ देखि ७० वर्षका १९१ जना, ७१ देखि ८० वर्षका ४६ जना, र ८० वर्ष भन्दा माथिका १२ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्ने हो भने प्रदेशगत विवरणमा प्रदेश २ र ५ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । त्यस्तै सबैभन्दा कम मनाङ र मुस्ताङमा एक एक जना संक्रमित रहेका छन् भने सबैभन्दा बढी रौतहटमा संक्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्यविद् तथा विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्ने अवस्था नजिकिएको बताइरहेका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समिति (सीसीएमसी) ले प्रभावकारी काम गर्न नसकेको जनस्वास्थ्यविद्को भनाइ छ । असार १ मा ४५१ जनामा संक्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको थियो । त्यसपछिका २३ दिनमा संक्रमणको संख्याले तीव्र गति लिएको हो । नेपालमा असार १ देखि २३ गते सम्मको संक्रमित डाटा यस्तो छ ।

असारमा १ मा ४५१ जना, क्रमशः ३८० जना, ५८६ जना, ६७१ जना, ४२६, ३३१, ४२१, ५३५, ५३८, ६२९, ४३४, ५९३, ५५४, ४६३, ४७६, ३१६ जना , ४८२ जना, ४७५, ७४०, २३२, २९३, १८०, २०४ जना रहेका छन् ।

नेपालमा ९९ प्रतिशत कोरोना सङ्क्रमित लक्षणविहीन

नेपालमा कोरोना सङ्क्रमण भएका मध्ये ९९ प्रतिशत कोरोना सङ्क्रमितमा कुनै पनि लक्षण नदेखिएको पाइएको छ । महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले सङ्क्रमित देखिएका झण्डै १६ हजारमध्ये केहीलाई मात्र सामान्य लक्षण देखिएको बताएका छन् । ‘अन्य देशको भन्दा नेपालमा फरक के रहेको छ भने नेपालमा ९९ प्रतिशतमा कुनै पनि लक्षण देखिएको छैन, नेपालमा जति पनि संक्रमित भएका व्यक्तिहरु छन् उनीहरुमा संक्रमण देखिए पनि लक्षण भने केही छैन’ उनले भने ।

नेपालमा देखिएको कोरोना सङ्क्रमणमध्ये करीब ९७ प्रतिशत आयातीत रहेको छ । अरू देशबाट आएका छन् । ती मध्ये आजसम्म आरटी पिसिआर विधिबाट परीक्षण गरिएको दुई लाख ६१ हजारमध्ये सबैभन्दा धेरै प्रदेश नं २ र ५ मा हो भने अहिले सुदूरपश्चिम प्रदेश बढी जोखिममा रहेको देखिन्छ । अहिलेसम्म नेपालको स्थिति हेर्दा वाग्मती र गण्डकी प्रदेशमा छिट्पुट सङ्ख्यामा छ भने अन्य प्रदेशमा ‘क्लष्टर अफ केसेस’ देखिएको छ ।

संक्रमणको दर बढ्नुको कारण परिक्षणको दायरा बढ्नु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो समय तीव्र संक्रमण देखिनुको कारण व्यापक परीक्षण भएको बताएका छन् । पछिल्लो समय संक्रमणका साथै पूर्ण रुपमा निको हुनको संख्या पनि बढेको प्रवक्ता गौतमले बताए । उनले भने–‘असार महिना लागेसँगै संक्रमितको संख्या ९ हजार बढी थपिनुको कारण व्यापक परीक्षण नै हो ।’

पछिल्लो समय काठमाडौंमा संक्रमितको संख्या बढ्यो नि ? भन्ने केन्द्रबिन्दुको प्रश्नमा प्रवक्ता गौतमले ३ महिना अघिदेखि नै मन्त्रालयले काठमाडौं कोरोनाको हटस्पट बन्न सक्ने भन्दै सचेत गराएको बताए । काठमाडौं जस्तो बढी जनसंख्या भएको स्थानमा संक्रमण फैलिने जोखिम धेरै हुने भएकाले सरकारी संयन्त्रका साथै आम सर्वसाधारण पनि सचेत हुनुपर्नेमा प्रवक्ता गौतमको जोड छ ।

Logo