उपत्यकामा कोरोनाको जोखिम बढ्दै, उच्च सर्तकता अपनाउन विज्ञहरुको सुझाव

उपत्यकामा कोरोनाको जोखिम बढ्दै, उच्च सर्तकता अपनाउन विज्ञहरुको सुझाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस (कोभिड-१९) यतिबेला विश्वभरी नै माहामारीको रुपमा फैलिएको छ । यसरी माहामारीकै रुपमा दिनप्रतिदिन संक्रमितको सङख्या पनि बढ्दै गएको छ । संक्रमणबाट मृत्यु हुनेहरु पनि बढिरहेका छन् ।

यो कोरोनाको माहामारीबाट नेपाल पनि अछुतो छैन । त्यसैले कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपालमा आगामी साउन ७ गतेसम्म लकडाउन कायमै रहेको छ । तर लकडाउनको तीन महिनासम्म काठमाडौं उपत्यका कोरोना संक्रमणको कम जोखिममा रहेको थियो । उपत्यकामा संक्रमित पनि एकदमै कम देखिंदै आएका थिए तर अहिले पछिल्लो तीन हप्तादेखि निरन्तररुपमा कोरोना संक्रमित पनि बढ्दै गएका छन् ।

सरकारले तीन सातादेखि लकडाउनलाई सहज बनाएपछि उपत्यकामा भिडभाड पनि बढ्दै गएको छ । सडकमा सार्वजनिक सवारीसाधन बाहेक अन्य सबै सवारीसाधनहरु देखिन थालेका छन् । सडकदेखि व्यापारीक केन्द्रहरुमा समेत मानिसहरुको भिड लाग्न थालेको तथा उपत्यका भन्दा बाहिरबाट पनि मानिसहरु निर्वाधरुपमा भित्रिरहेका र क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा समेत बस्ने नगरेकाले पनि उच्च जोखिम देखिन थालेको विज्ञहरुले बताएका छन् ।

उनीहरुले नेपालमा पछिल्लो समय कोरोना भाइरस समुदायस्तरमा नै फैलिएकाले उपत्यकाका मानिसहरुले थप सचेत र सर्तकता अपनाउनु पर्ने देखिएको बताए । अझै मुलुक लकडाउनमा नै रहेको छ । तर पनि किन मानिसहरु अनाश्यकरुपमा घरबाहिर निस्किरहेका छन् । सरकारले बजारमा मान्छेको भिडभाड नहोस् भनेर लकडाउन गरिरहको छ ।

अहिलेसम्म विश्वमा नै कोरोना भाइरसको औषधि एवं खोप बनेको छैन । यहि कारण कोरोना भाइरस जस्तो संक्रामक रोगबाट जोगिन लकडाउनलाई अहिले एउटा विकल्पको रुपमा सरकारले अपनाएको छ । तर सडकमा वा शहरमा, गल्लीमा वा बस्तीमा, मान्छेहरुको चहलपहल कम हुन पर्ने ठाउँमा बढ्दै गएको छ । किनमेल गर्न वा अत्यावश्यक कामका लागि मात्र होइन, मान्छेहरु घरबाहिर निस्केर टहल्न वा रमाइलो गर्न पनि भिडमा मिसिंदैछन् । न शारीरिक दूरी कायम गरिएको छ, न मास्क जस्ता सुरक्षात्मक विधी अपनाइएको छ । अब नेपालमा कोरोना भाइरस नभएको जस्तै गरी नेपालीको मनोविज्ञान परिवर्तन भएको देख्निछ । मानिसमा पछिल्लो समय कोरोनाप्रतिको भय हटेर आत्ममनोबल बढेको जस्तै भएको छ । तर अहिले नै उपत्यका उच्च जोखिममा रहेकाले यस्तो परिर्वतन भइहाल्नु पर्ने स्थिति नरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले बताए ।

उनका अनुसार अहिले मानिसहरुको भिड र घुलमिल बढ्दै गएको तथा मानिसहरुमा कोरोना भाइरस निर्मुल भइसक्यो वा यसको अब कुनै जोखिम छैन, कोरोना भनेको तातो पानी पिएर, हाँच्छ्युँ–साच्छ्युँ गरेर उडाउन सकिन्छ, हामीमा भाइरस पचाउने क्षमता छ तथा कोरोनाको संक्रमण भए पनि मरिंदैन भन्ने भएकाले पनि यस्तो भइरहेको छ ।

उनले भने, ‘हिजोसम्म हामी सर्तक एवं सजग थियौं । कोरोनाको जोखिमप्रति सुरुमा सामाजिक दुरी, मास्क तथा सेनिटाइजरको प्रयोग र सरसफाइमा ध्यान दिइने गरेका थियौं । तर, अहिले हामी यसरी बदलिंदैछौं, मानौं कोरोनाको कुनै डर छैन । जबकी अहिले नेपालको उपत्यका लगायत सबै ठाँउमा भुसको आगो जस्तै कोरोना भाइरस भित्र–भित्रै सल्किरहेको छ । त्यसैले सचेत र सजग हुनु पर्ने अवस्था रहेको छ ।’

अहिले दिनहुँ सयौं जना संक्रमित बढ्दैछन् । अझ परीक्षणको दायरा बढाउने हो भने यो संख्या बढ्न सक्ने सहजै अनुमान गर्न सकिन्छ । हालसम्म १६ हजार बढी कोरोना संक्रमित भइसकेका छन् । त्यसमध्ये ३५ जना संक्रमितको कोरोनाले ज्यान लिइसकेको छ । विश्वस्तरमा पनि कोरोना संक्रमण र मृत्यु दर बढ्दो छ । विश्वमा कोरोना भाइरसकै कारण पाँच लाख ४६ हजारको मृत्यु भइसकेको छ । एक करोड २० लाख बढी कोरोना संक्रमित छन् ।

त्यस्तै, जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले उपत्यकामा संक्रमित जिल्लाबाट विभिन्न भित्री बाटो हुँदै हजारौं व्यक्तिहरु आइरहेका तर उनीहरुलाई क्वारेन्टाइनमा नराखिएका कारण उच्च जोखिम रहेको बताएका छन् ।

उनका अनुसार उपत्यकामा अधिकांश अस्पतालमा उपचार तथा शल्यक्रिया गर्नुपूर्व पिसिआर टेस्ट गर्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएका, ट्राभल हिस्ट्री तथा कन्ट्याक्ट हिस्ट्री नभएका बालबालिकादेखि सबै उमेरका व्यक्तिमा संक्रमण भएको, विदेशबाट चार्टर उडानमा आइरहेका व्यक्तिलाई अनिबार्य रुपमा क्वारेन्टाइनमा राखिएको छैन । जसले गर्दा उनीहरु घरमा पुगेपछि संक्रमित देखिएका छन् ।

उनले भने, ‘लकडाउन खुकुलो भएसँगै उपत्यकाका बजारमा भीडभाड गर्ने, व्यक्तिगत दुरी कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाविधिको सरकारले अनुगमन र कारबाही गर्नु पर्ने हो । तर यसमा सरकारको ध्यान गएको छैन । आम नागरिकमा डर तथा सतर्कता हराउँदै गएको छ । सहि तरिकाले मास्क लगाउनेको संख्या धेरै कम भएको र भौतिक दुरी पटक्कै कायम भएको छैन । थुक्ने बानी उस्तै छ हात धुने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता सुरक्षाबिधिलाई बेवास्ता गर्ने प्रवृतिको विकास भएको छ । यसले गर्दा पनि अझ जोखिम बढ्दै जाने देखिएको छ ।’

४० लाख भन्दा बढी जनसंख्या भएको काठमाडौं उपत्यकामा एकदम न्यून मात्रामा कोरोना टेस्ट गरिएको छ । यसमा जति धेरै परीक्षणको दायरा बढायो, त्यति धेरै संक्रमितको पहिचान हुन्छ । जति धेरै संक्रमितको पहिचान भयो संक्रमितलाई आइसोलेसनमा राखेपछि त्यति धेरै स्वस्थ व्यक्तिलाई कोरोना संक्रमण सर्दैन तर स्वास्थ्य मन्त्रालय गुणस्तरहीन थोरै सामग्री किनेर अर्बौंका बिल बनाउन व्यस्त रहेकाले सरकारलाई कोरोना संक्रमण रोकथामबारे सोच्नेसम्म फुर्सद नभएको उनको भनाइ छ ।

अब यसको रोकथाम तथा नियन्त्रणको लागि उपत्यका शिल गर्ने, उपत्यका आउने व्यक्तिलाई पनि कोरोना टेस्ट गर्ने कि क्वारेन्टाइनमा राख्ने, विदेशबाट नेपाल आएका व्यक्तिहरुलाई अनिवार्य रुपमा पिसिआर टेस्ट गर्ने लगायत विषयमा सरकारले सोच्नु पर्ने उनले बताए । संक्रमितलाई आइसोलेसनमा राख्ने, नेगेटिभ रिपोर्ट आए घर पठाउने अनि होम क्वारेन्टाइनमा राख्ने, बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, अस्पताल आदि ठाउँमा समय लिएर मात्र सेवा लिने र दिने गर्न पनि पाण्डेले सुझाव दिएका छन् । अनलाइन प्रविधिलाई सकेसम्म बिस्तार गर्ने, गाहकलाई प्रशिक्षित गर्ने, टेलिमेडिसिन बिस्तार गर्ने, पिसिआर टेस्टको दायरा बढाउन जनताले पहल गर्ने, नीजि प्रयोगशालामा टेस्ट गर्न दबाब दिने, परिक्षणको दायरा बढाउने, तरकारी बजारदेखि भीडभाडमा किनमेल गर्न नजाने र नागरिक आफैंले सुरक्षाबिधि अपनाउने तथा जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई घरभित्र नै राखेमा उपत्यकामा कोरोना केहि नियन्त्रण हुने उनको दाबी छ ।

त्यस्तै, सरुवा रोग विशेषज्ञ अनूप सुवेदीले पनि उपत्यकामा लकडाउन खुकुलो भएर सबै क्षेत्र सञ्चालनमा आएपछि बजारमा भिडभाड बढेकाले तथा मानिसहरुमा कोरोनाको डर हट्दै गएकाले पनि उपत्यकामा उच्च जोखिम बढेको बताएका छन् ।

उनका अनुसार कोरोना भाइरस केहि समय अगाडिदेखि समुदायस्तरमा प्रवेश गरिसकेको तर सरकारले विज्ञहरुको सुझावलाई समेत बेवास्ता गर्दै पिसिआर टेष्टको दायरा पनि नबढाएकाले यसले माहामारीको रुप लिने संकेत देखिएको छ । उनले भने, ‘त्यसैले अब नागरिकहरुले नै सचेत र सर्तकता अपनाउनु पर्ने देखिन्छ ।’

मानिसमा कोरोनाको डर नै छैन ?

कोरोना भाइरसको संक्रमण घट्दो क्रममा वा नियन्त्रित अवस्थामा छैन । कोरोना संक्रमण पूर्णतः नियन्त्रणमा आइसकेका भनिएका कतिपय मुलुकमा पुनः यसको संक्रमण फैलिएको छ । अहिले काठमाडौं उपत्यकालाई केन्द्रबिन्दु बनाउने गरी संक्रमण बढेको छ । सोमबार मात्रै उपत्यकामा ५४ जनामा कोरोना संक्रमण थपिएका छन् । मंगलबार २८ जना थपिए ।

सुरुका दिनमा मानिसहरुमा जुन किसिमले सन्त्रास देखिएको थियो, अहिले त्यस्तो डर देखिन छोडेको छ । पहिला मानिसहरु घर बाहिर निस्कन समेत डराउने गर्थे तर अहिले भिडैभिडमा हिंडिरहेका छन् । उपत्यकामा विभिन्न आन्दोलनको नाममा भिड बढेको छ तर मानिसहरुमा डर भने छैन ।

Logo