उपत्यकामा संक्रमित बढे, हरेक एक घण्टामा २ जना संक्रमित थपिंदै

उपत्यकामा संक्रमित बढे, हरेक एक घण्टामा २ जना संक्रमित थपिंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण उपत्यकामा बढेको पाइएको छ । उपत्यकामा मानिसहरु भित्रिएसँगै सङ्क्रमित बढेको पाइएको हो । अहिले दैनिक उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । आइतबार ३० जना सङ्क्रमित देखिएका थिए भने सोमबार ५४ जनामा देखिएको छ ।

सोमबार देखिएका १८० जना सङ्क्रमितमध्ये ५४ जना उपत्यकाका रहेका छन् । काठमाडौँमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा सङ्क्रमण देखिएको हो । तीमध्ये नेपाल वायु सेवा निगमका तीन पाइलटसहित सात जना पनि रहेका छन् । साउदी अरव, कुवेतबाट मानिस उद्धार गरेर नेपाल ल्याउँदा उनीहरुमा सङ्क्रमण सरेको हुन सक्ने बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा सङ्क्रमित बढेसँगै परीक्षणको दायरा बढाइएको बताए। उनले सङ्क्रमित बढेसँगै उपत्यकाका समुदायमा सङ्क्रमण देखिएको हो वा होइन भन्नका लागि १० ठाउँबाट स्बाव सङ्कलन गरी परीक्षण गरिएको बताए ।

उनका अनुसार तिनकुने र ललितपुरको नख्खुका २२८ जनामा स्बाव सङ्कलन गरी पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको छैन । यस्तै सात ठाउँमा गरिएको परीक्षणका नतिजा आउन वाँकी रहेको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा प्रमुख डा वासुदेव पाण्डेले मानिसहरु उपत्यका प्रवेश गरेसँगै सङ्क्रमणको जोखिम बढेको बताए । उनले भेटिएका सङ्क्रमित एकै ठाउँका नरहेकाले विभिन्न ठाउँबाट प्रवेश गरी उपत्यका आएकामा देखिएको बताए।

उनका अनुसार ती सङ्क्रमित व्यक्तिहरुमा विभिन्न ठाउँबाट अस्पतालमा उपचार गराउन आएका बढी रहेका छन् । “भेटिएका सङ्क्रमित कपन, चाँगुनारायण, हरिसिद्धी लगायतसँगै स्वास्थ्यकर्मीसमेत रहेका छन्”, उनले भने, “उनीहरुको कसै न कसैसँग कन्ट्याक्ट भएको हुन सक्छ, कहाँबाट आएका हुन् भन्ने हामीले पत्ता लगाइरहेका छौँ ।”

महाशाखाले ती सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी लतिलपुरको नख्खु, एकान्तकुना, भक्तपुरका बोडे लगायत क्षेत्रका मानिसको नमूना सङ्कलन गरिएको छ । सङ्क्रमित उपत्यकामा बढ्न थालेपछि लोकल ट्रान्समिसन हो वा होइन भन्नेबारेमा समेत अध्ययन भइरहेको महाशाखा प्रमुख पाण्डेले बताए।

अहिलेम्म नेपालमा १५ हजार ९६४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये ६ हजार ८११ जना निको भई घर फर्किसकेका छन् भने ३५ जनाको सङ्क्रमणकै कारणले मृत्यु भएको छ ।

Logo