नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमित भन्दा निको हुने बढी

नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमित भन्दा निको हुने बढी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमित भन्दा निको हुने बढी देखिएका छन् । २ दिन यताको तथ्यांक हेर्ने हो भने निको हुनेको संख्या बढेको देखिन्छ । बुधबार ४८२ जना नयाँ संक्रमित थपिंदा त्यसदिन १ हजार ४६२ निको हुने थपिएका थिए । यस्तै विहिबार ४७३ जना संक्रमित थपिएका थिए तर निको हुनेको संख्या ६६४ जना थपिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३६४ पुरुष र १०९ महिला गरी कुल ४७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या १४ हजार ५१९ पुगेको छ । तीमध्ये एक हजार ८८३ महिला र १२ हजार ६३६ पुरुष छन् । प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म पाँच हजार ३२० जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ६६४ जना उपचारपछि घर फर्किएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार ५३७ जनाको परीक्षण भएको छ ।

शिशुको मृत्युसँगै मृतक ३१ पुगे

कोरोना भाइरस सङ्क्रमणबाट थप एक शिशुको मृत्यु भएको छ । म्याग्दी जिल्ला धवलागिरि नगरपालिका–४ स्थायी बसोबास भएको ४९ दिनको ती शिशुको बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । लामो समयदेखि स्वास्थ्यमा समस्या भएपछि ती शिशुलाई असार ९ गते अस्पतालमा भर्ना गरिएको थियो । उनीसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।

Logo