लकडाउन खुकुलोसँगै उपत्यकामा भिड बढ्दै : ‘कडाइ नगरे संक्रमणले तिव्रगति लिन्छ’-जनस्वास्थ्य विज्ञ

लकडाउन खुकुलोसँगै उपत्यकामा भिड बढ्दै : ‘कडाइ नगरे संक्रमणले तिव्रगति लिन्छ’-जनस्वास्थ्य विज्ञ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस (कोभिड-१९) ले यतिबेला विश्वलाई आतंकित बनाएको छ । यसको संक्रमणबाट दिनप्रतिदिन मृत्यु हुनेहरु पनि बढिरहेका छन् । कोरोनाको असरले विश्वका आर्थिक तथा स्वास्थ्य क्षेत्रमा बलिया र शक्तिशाली मानिएका देशहरुमा नै नियन्त्रण भन्दा बाहिर गएर भयावह स्थिति भएको र कतिपय मुलुकले नियन्त्रण गर्न पनि सफल भएका छन् ।

कोरोनाको माहामारीबाट नेपाल पनि अछुतो छैन । कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपालमा सय दिनदेखि देश लकडाउनमा रहेको छ तर पनि कोरोना संक्रमितको संख्या भने दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो समय भारतबाट धेरै नागरिक नेपाल आएकाले तथा विदेशमा अलपत्र परेकालाई सरकारले उद्धार गरेर ल्याएकामा पनि कोरोना पोजेटिभ देखिएकाले पनि कोरोना संक्रमितको सङख्या बढ्दै गएको छ ।

यसरी विदेशबाट फर्किएकाहरुमा कोरोना संक्रमण देखिएकाले पनि नेपालमा संक्रमितको संख्या बढेको विज्ञहरूको भनाइ छ । उनीहरुले अहिले समुदायस्तरमा समेत कोरोना संक्रमण देखिन थालेकाले सबै जना सचेत रहनु पर्ने बताएका छन् । नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमण चैत १० गते विदेशबाट आएकी एक युवतीमा देखिए पछि चैत ११ गतेदखि लकडाउन घोषणा गरेर उपत्यका तथा आसपासका जिल्लामा समेत लकडाउनमा थप कडाइ गरिएको थियो ।

सरकारले लकडाउन गरेसँगै कोरोना भाइरसको सन्त्रासले उपत्यकाबासी घर बाहिर पनि निस्किएका थिएनन् । तर अहिले तीन महिनाको लामो लकडाउनले मानिसहरुमा कोरोनाको डर भागेको देखिएको छ । किनकी लकडाउन खुकुलो भएपछि उपत्यकामा सार्वजनिक सवारीसाधन बाहेक अन्य सबैक्षेत्र खुलेका छन् । यसरी सबैक्षेत्र सञ्चालनमा आएपछि बजार अस्तव्यस्त बन्न थालेको छ । मानिसहरुमा कोरोना भाइरसको सन्त्रास हटेको देखिन्छ । यसले गर्दा संक्रमण बढ्ने संकेत देखिएको छ । यसका लागि सरकारले बजारलाई व्यवस्थित बनाएर सञ्चालन गर्न निर्देशन गर्नु पर्ने विज्ञहरुले बताएका छन् ।

तर, पछिल्लो समयमा उपत्यका लगायत ७७ वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ । उपत्यकामा दैनिक १० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिन थालेको छ तरपनि उपत्यकामा रहेका मानिसहरुमा डर हराएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्न सरकारले लागू गरेको लकडाउन बुधबार सय दिन पुगेको छ । तर, संक्रमण भने उच्चबिन्दुमा पुग्दै गएको छ । विश्व स्वास्थ्य संगठनले पनि नेपालमा कोरोना संक्रमण समुदायस्तरमा पुगि नसकेको जनाएको छ ।

पछिल्लो समयमा भारत लगायत अन्य मुलुकबाट मानिसहरु आएकाले सरकारले उनीहरुको पिसिआर परिक्षण गरेर आइसोलेसनमा राखेर उपचारलाई व्यवस्थित नबनाए जोखिम बढ्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले बताए । उनका अनुसार सरकारले सय दिनसम्म लकडाउन मात्रै गरेको तर कोरोना नियन्त्रणको लागि लकडाउन खुकुलो बनाए पछि पनि केही नगरेकाले पनि खतरा बढ्दै जाने देखिएको छ ।

सरकारले यो समयमा सचेत बनाउने खालका सूचना प्रभाव गर्नुपर्ने थियो तर यो काम गर्न अझै सरकारले सकेको छैन । उनले भने, ‘मानिसहरुले एक मिटरको दूरी कायम गर्ने, मास्क लगाउने जस्ता कुरा गरेको तर चुरोट खाँदा सबैले एउटै चुरोट बाँडेर खाने, पान खाएर जथाभावी थुक्नु हुन्न भन्ने सूचना नपाएकाले पनि समुदायमा भुसको आगो जस्तै भित्रभित्रै सल्कदै जान सक्छ ।’ सरकारले लकडाउन खुकुलो बनाएपछि बजार सञ्चालनका मापदण्डको बारेमा सूचना पसल पसलमा गएर टाँस्नु पर्नेमा यो पनि गर्न सकेको छैन । अहिले नेपालमा सबै डोकामा दुध अडिन्छ भनेर आएकाको हातमा सत्ता रहेकाले सबैले पनि आफ्नो बयान मात्रै गर्ने तर जनताको स्वास्थ्यको लागि काम गर्न नसकेको उनको भनाइ छ ।

त्यस्तै, जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले परीक्षणको दायरा नबढाएसम्म संक्रमण कुन स्तरमा छ भन्न नसकिने बताएका छन्  । उनका अनुसार उपत्यकामा ट्राभल हिस्ट्री नै नभएका व्यक्तिहरूमा समेत कोरोना संक्रमण देखिन थालेकाले कोरोना संक्रमण समुदायस्तरमा समेत पुगेको देखिन्छ । लकडाउन खुकुलो भएसँगै भिडभाड बढ्दै गएकाले अझै तीव्र गतिमा बढ्न सक्ने उनको भनाइ छ ।

अहिले शहरी क्षेत्रमा धेरै भिडभाड बढे पनि कोरोना परीक्षणको दायरा भने सरकारले बढाउन सकेको छैन । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गत जेठ २९ गतेको संसद बैठकमा बोल्दै असार १५ गते पछि दैनिक परीक्षण बढाएर १० हजार पु¥याउने बताएका थिए । तर, पनि पछिल्लो २४ घण्टामा चार हजार ८ सय ८६ जनाको मात्र स्वाब परीक्षण गरिएको छ  भने अहिलेसम्म २ लाख ३३ हजार २ सय २७ जनाको परीक्षण गरिएको छ । आरडिटी परीक्षण पनि ३ लाख ६ हजार २० रहेको छ । त्यस्तै, नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ जना पुगेको छ । आज ४८२ जना थपिएका छन् । मंगलबार ३१६ जना थपिएका थिए । सोमबार ४७६ जना थपिएका थिए भने अहिलेसम्म ३० जनाको मुत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमित ९५ प्रतिशत विदेशबाट आएका

नेपालमा संक्रमित देखिएका ९५ प्रतिशत विदेशबाट आएर क्वारेन्टाइनमा बसेका नागरिकहरू रहेका छन् । यसमा उनीहरूको व्यवस्थापन तथा उपचारमा खटिएकाहरू पनि रहेका छन्  । भारतबाट कतिपय व्यक्ति लुकिछिपी आएकाले उनीहरूबाट पनि केहीमा संक्रमण फैलिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले बताए ।

उनका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमण देखिएका ९५ प्रतिशत संक्रमित भारत तथा अन्य मुलुकबाट आएकाहरू रहेका तथा ५ प्रतिशत स्वदेशमा रहेका हुन् । उनले भने, ‘भारतबाट लुकीछिपि आएकाले समुदायस्तरमा समेत पुगेको छ भने कुल संक्रमितमध्ये झण्डै ९८ प्रतिशत मानिसहरुमा कुनै पनि कोरोना संक्रमणको लक्षण नै नदेखिएकाले संक्रमितहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ ।’

विश्वको तुलनामा नेपालमा संक्रमित कम

नेपालमा विश्वका देशहरुको तुलनामा कोरोना संक्रमितको सङख्या कम रहेको छ । नेपालमा कोरोना परिक्षण पिसिआर टेष्ट गर्दा कुल पिसिआर टेष्टको ७ प्रतिशत मानिसमा मात्रै कोरोना पोजेटिभ देखिएकाले पनि नेपालमा अन्य मुलुकको तुलनामा कम रहेको डा.मरासिनीले बताए ।

Logo