प्रदेश नं.१ मा ४१ हजार ३३९ जनाको कोरोना परीक्षण

प्रदेश नं.१ मा ४१ हजार ३३९ जनाको कोरोना परीक्षण

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

प्रदेश नं १ मा अहिलेसम्म ४१ हजार ३३९ जनाको कोरोना परीक्षण भएको छ । परीक्षण भएकामध्ये पीसिआर विधिबाट २३ हजार ५७७ र आरडिटी विधिबाट १७ हजार ७६२ जना रहेका छन् ।

सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको अस्पताल विकास तथा चिकित्सा सेवा महाशखाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । महाशाखा प्रमुख सागर प्रसाइँका अनुसार वैशाखमा पिसिआर विधिबाट दुई हजार ४३९ र आरडिटी विधिबाट आठ हजार ६७४, जेठमा पिसिआर विधिबाट १२ हजार ९२१ र आरडिटी विधिबाट छ हजार ९२७ तथा असार १५ सम्ममा पिसिआर विधिबाट आठ हजार २१७ र आरडिटी विधिबाट दुई हजार १६१ जनाको परीक्षण भएका छन् ।

सो अवधिमा ३९२ जना सङ्क्रमित उपचार पछि निको भएर घर फर्किसकेको उनले बताए । अहिले विभिन्न आइसोलेसन कक्ष एवं उपचार केन्द्रमा १७५ जना सङ्क्रमितको उपचार भइरहेको उनले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घन्टामा यो प्रदेशमा १० जना नयाँ सङ्क्रमित भेटिएका छन् । ती मध्ये झापाका चार, सङ्खुवासभाका तीन, सुनसरीका दुई र खोटाङका एक जना छन् ।

सो अवसरमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोना सङ्क्रमित भर्ना हुने मध्येबाट उपचारपछि घर फर्किनेको अनुपात सन्तोषजनक रहेको बताए।रासस

Logo