आजदेखि दैनिक १० हजार पिसिआर परीक्षण गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता अधुरै

आजदेखि दैनिक १० हजार पिसिआर परीक्षण गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता अधुरै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ गतेबाट दैनिक १० हजार जनाको पिसिआर विधिबाट परीक्षण गर्ने प्रतिबद्धता जनाएका थिए । तर उनले जनाएको प्रतिबद्धता पूरा नहुने देखिएको छ ।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएकाले यसको नियन्त्रणको लागि पिसिआर परीक्षणको दायरा बढाउने भन्दै स्वास्थ्य मन्त्री ढकालले गत जेठ २६ गतेको संसद् बैठकमा १५ असारदेखि दैनिक १० हजार जनाको पिसिआर परीक्षण गरिने जानकारी दिएका थिए । तर पछिल्लो एक सातामा दैनिक करिव पाँच हजार जनाको मात्रै पिसिआर परीक्षण हुँदै आएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार आइतबार ४ हजार ६ सय ६ जनाको पिसिआर परीक्षण भएको छ । मन्त्रालयले भएका प्रयोगशालाहरूको क्षमता वृद्धि गर्ने, थप पिसिआर मेसिनहरू थप्ने र निजी प्रयोगशालाहरूलाई पनि प्रयोग गरेर दैनिक १० हजार जनाको परीक्षण गर्ने तयारी गरेको थियो । तर तयारी गरे अनुसार दैनिक १० हजार पिसिआर परिक्षण गर्ने छाँटकाँट देखिएको छैन ।

सरकारले कोरोना परीक्षणको दायरा बढाउनको लागि थप १० वटा अस्पतालहरूमा पिसिआर मेसिन जडान गर्ने जनाएको छ । तर सरकारले अहिलेसम्म निजी प्रयोगशालाहरूलाई भने परीचालन गर्न सकेको छैन । यस अगाडी सरकारले निजी प्रयोगशालाहरूलाई एउटा नमूनाको परीक्षण गरे बापत ५ हजार ५ सय रुपैयाँ दिने भनेको थियो ।

अहिले देशभर रहेका २३ वटा प्रयोगशालाहरूबाट दैनिक ४ हजार जनाको परीक्षण हुँदै आएको छ । अहिलेसम्म एकैदिन सर्वाधिक ७ हजार जनाको परीक्षण भएको छ । मन्त्रालयले यही संख्यालाई बढाएर दैनिक १० हजार पुर्याउने भनेको थियो । अहिले भने मन्त्रालयले दैनिक १० हजार जनाको परीक्षण गर्न आवश्यक नरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक १० हजार जनाको परीक्षण गर्नुपर्ने अहिले नै नदेखिएको बताएका हुन् । कोरोना आशंका गरिएका तथा विदेशबाट आएका गरेर नेपालभर ६० हजार मानिस मात्रै क्वारेन्टाइन रहेकाले दैनिक पिसिआर परीक्षण १० हजार नभएर ७ हजारको मात्रै गरे पुग्ने उनको भनाइ रहेको छ । मन्त्रालयको आइतबारसम्मको तथ्यांक हेर्दा ६५ हजार व्यक्ति क्वारेन्टानमा छन् । उनीहरू अधिकांश भारतबाट आएका छन् । स्वास्थ्यमन्त्री ढकालले समय समयमा कोरोना परीक्षणको दायरा बढाएर १० हजारमा पु¥याउने दाबी गरे पनि पछिल्ला एक साता देखि परीक्षण दिनप्रतिदिन घट्दै गएको छ ।

अहिले सञ्चालनमा रहेका प्रयोगशाला पनि बिग्रिएर बसेका छन् भने कतिपय प्रयोगशालामा किट अभाव हुँदा परीक्षण हुन सकेको छैन । कतिपय प्रयोगशालामा क्षमता भन्दा बढी स्वाब परीक्षणको लाइन रहेको छ । परीक्षण किट अभाव हुँदा यसअघि सुदुरपश्चिम प्रदेशमा स्वाब संकलनसमेत रोकिएको थियो ।

कोरोना संक्रमित व्यक्तिमा निको भएका व्यक्तिको प्लाज्मा प्रत्यारोपण गर्ने तयारी

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोभिड-१९ संक्रमणबाट गम्भिर अवस्थामा रहेका व्यक्तिमा संक्रमण जितेका व्यक्तिको प्लाज्मा परीक्षणको तयारी गरेको छ ।

संक्रमित भएर जटिल अवस्थामा उपचार गराइरहेका व्यक्तिहरुमा निको भएका व्यक्तिको प्लाज्मा दिएर बचाउन सकिन्छ भन्ने कुराहरु अध्ययनहरुले देखाएकाले परीक्षणको तयारी गरिएको परिषदले जनाएको छ । परिषदका चिफ रिसर्चर डा. मेघनाथ धिमालले निको भएको मान्छेको प्लाज्मा दिएपछि बचाउन सकिन्छ भन्ने कुराहरु बाहिरबाट आइरहेकोले नेपालको इथिकल बोर्डले पारित गरेकाले केही समयपछि नै परीक्षण हुने बताए ।

परिषदले अहिले नेपालमा रहेका संक्रमितहरु विभिन्न देशबाट आएका व्यक्तिहरुमा लक्षणहरु पनि फरक फरक रहेकाले त्यो विषयमा पनि अनुसन्धान भइरहेको बताएको छ । परिषदले कोभिड—१९ महामारी सम्बोधनमा नेपालभरी स्वास्थ्य क्षेत्रमा भइरहेको तत्परता र तयारीको मूल्याङ्कन सम्बन्धि अनुसन्धान समेत गरेको छ । सरकारले तोकेका कोभिड-१९ अस्पतालका रुपमा तोकिएका अस्पतालले सञ्चालन गरेका क्लिनिकहरुमा अध्ययन गरेको हो ।

कोरोना भाइरस फैलिएको ६ महिना बित्दा पनि यसविरुद्ध कुनै पनि औषधि पत्ता लाग्न सकेको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ११० वटा औषधि परीक्षणका क्रममा रहेका छन् भने १० वटा औषधि मानिसमा परीक्षण भइरहेको छ । यो भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विश्वभर विभिन्न उपायहरु अवलम्वन गरिँदै आएको छ ।

Logo