मुख्यमन्त्री पौडेलद्वारा होल्डिङ स्टेशन र क्वारेन्टाइनको निरीक्षण

मुख्यमन्त्री पौडेलद्वारा होल्डिङ स्टेशन र क्वारेन्टाइनको निरीक्षण

केन्द्रबिन्दु
0
Shares

हेटौँडा ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडामा सञ्चालित होल्डिङ स्टेशन र क्वारेन्टाइनको स्थलगत निरीक्षण गरेका छन् । उनले जिल्ला समन्वय समिति मकवानपुरद्वारा सञ्चालित होल्डिङ स्टेशन र हेटौँडा उपमहानगरपालिका वडा नं. ९ कार्यालयद्वारा सञ्चालित क्वारेन्टाइनको निरीक्षण गरेका हुन् ।

जिल्ला समन्वय समिति मकवानपुरले कोरोना महामारीका कारण वैदेशिक रोजगारीबाट फर्किएका जिल्लावासीलाई खाने बस्ने व्यवस्थासहित होल्ड गराउने उद्देश्यले हेटौँडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको भवनमा होल्डिङ स्टेशन सञ्चालनमा ल्याएको छ । हवाई जहाजमार्फत विभिन्न मुलुकबाट काठमाडौँ हुँदै हेटौँडा आइपुग्दा जिल्लाका विभिन्न स्थानीय तहका नागरिक रात परेर अलपत्र नहुन् भन्नका लागि समितिले होल्डिङ स्टेशन सञ्चालनमा ल्याएको जनाइएको छ । त्यस्ता नागरिकलाई एकरात बस्ने, खाना, पानी र सुत्नसमेत मिल्ने गरी स्टेशन बनाइएको जिल्ला समन्वय समितिका प्रेस संयोजक विवश अधिकारीले जानकारी दिए ।

व्यवस्थित रुपमा करिब १०० जनालाई होल्ड गर्न मिल्ने गरी स्टेशन सञ्चालन गरेको उनले बताए । मकवानपुरका विभिन्न स्थानीय तह एवं सङ्घसंस्थाको सहयोग र सहकार्यमा समितिले सो स्टेशन सञ्चालन गरेको हो । गत जेठ २९ गतेबाट सञ्चालनमा आएको स्टेशनमा हालसम्म करिब १०० जनाले सेवा लिइसकेको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिए।

यसैगरी जिल्ला समन्वय समितिको सहयोगमा हेटौँडा–९ द्वारा सञ्चालित क्वारेन्टाइनबाट प्रभावकारी सेवा प्रदान भइरहेको वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिए । सो अवसरमा मुख्यमन्त्री पौडेलले होल्डिङ स्टेशन र क्वारेन्टाइनको व्यवस्थापकीय पक्ष राम्रो रहेको उल्लेख गर्दै यसका सञ्चालकलाई धन्यवाद दिए ।

नेपाली युवाले बनाएको भेन्टिलेटरको प्रदर्शनी

यसैगरी मुख्यमन्त्री पौडेलले नेपाली युवा इञ्जिनीयरले जटिल अवस्थाका बिरामीको उपचारमा अत्यावश्यक पर्ने उपकरण ‘भेन्टिलेटर’ निर्माण गरेकोमा बधाईसहित धन्यवाद दिएका छन् ।

मुख्यमन्त्री कार्यालयमा शुक्रबार आयोजित उक्त भेन्टिलेटरको प्रदर्शनी तथा प्रस्तुतीकरण कार्यक्रममा उनले नेपाली युवा वैज्ञानिकहरुलाई सहयोग गर्न आफू तयार रहेको बताए । उनले सम्बन्धित निकायबाट प्रमाणीकरण भएर आएमा प्रदेश सरकारले उक्त उपकरण खरिद गरेर प्रदेश अन्तर्गतका अस्पताल तथा एम्बुलेन्समा राख्न सक्ने बताए।

‘पाइला इमर्जेन्सी रेसिसिएटर’ नाम दिएको उक्त उपकरण भेन्टिलेटर भएको ठाउँमा सहायक भेन्टिलेटरको रुपमा तथा नभएको ठाउँमा भेन्टिलेटरको रुपमा तथा एम्बुलेन्समा पनि प्रयोग गर्न सकिने सो भेन्टिलेटरका मुख्य डिजाइनर इञ्जिनीयर रविन गिरीले जानकारी दिए । उक्त उपकरण बजारमा रु दुई लाखदेखि तीन लाख सम्ममा बिक्री वितरण गर्न सकिने पाईला टेक्नोलोजीका बजार व्यवस्थापक विशाल वाग्लेले जानकारी दिए ।

यो उत्पादनमा प्रोत्साहन पाए आफूहरु अन्तर्राष्ट्रिय बजारमा जान सक्ने गरी स्तरीय र भरपर्दो भेन्टिलेटर तथा अन्य उपकरणहरु बनाउन सक्ने टेक्नोलाजीका प्रमुख कार्यकारी विनय रावतले बताए।रासस

Logo