सरकारद्वारा कोरोना कोषबाट साढे ५५ करोड निकासा

सरकारद्वारा कोरोना कोषबाट साढे ५५ करोड निकासा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले ‘कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष’ बाट सात प्रदेश र नेपाली सेनालाई गरी साढे ५५ करोडभन्दा बढी रकम निकासा गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलको अध्यक्षतामा बुधबार बसेको कोषको सञ्चालक समितिको बैठकको निर्णय अनुसार बिहीबार रकम निकासा गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार कोरोनाको जोखिम नियन्त्रण, आइसोलेसन स्थापना तथा सञ्चालन र संक्रमितको उपचार गर्न सात प्रदेशलाई कुल ३८ करोड रुपैयाँ उपलब्ध गराइएको छ । प्रदेश १ लाई ४ करोड, प्रदेश २ लाई ७ करोड, वाग्मतीलाई ४ करोड, गण्डकीलाई ४ करोड, प्रदेश ५ लाई ७ करोड, कर्णालीलाई ६ करोड र सुदूरपश्चिम प्रदेशलाई ६ करोड रुपैयाँ उपलब्ध गराइएको हो । प्रदेशगत संक्रमण प्रक्षेपणका आधारमा रकम उपलब्ध गराइएको निर्णयमा उल्लेख छ । यस अघि स्थानीय तह र अस्पताललाई मात्र कोषबाट रकम दिइएको थियो ।

सरकारले कोरोना कोषबाट सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई ९ करोड २६ लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको छ । सैनिक अस्पताललाई आईसीयू कक्ष लगायतका भौतिक पूर्वाधार निर्माण गर्न र औषधि लगायत स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न रकम दिइएको हो । सातै प्रदेशका ८४ पालिकालाई क्वारेन्टाइनको मर्मतसम्भार, खानपिन र बसोबासका लागि ७ करोड २२ लाख ६८ हजार रुपैयाँ उपलब्ध गराइएको छ । पालिकाहरूलाई घटीमा करिब ३ लाखदेखि बढीमा १७ लाख रुपैयाँसम्म रकम दिइएको छ ।कान्तिपुरबाट

Logo