नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, निको हुनेको संख्या २,६५० पुग्यो (भिडियोसहित)

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, निको हुनेको संख्या २,६५० पुग्यो (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या २६ पुगेको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मधुमेहका विरामी स्याङ्जाको आँधिखोला १ का ५५ वर्षय पुरुषमा असार ८ गते कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएको ती पुरुषको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसीयुमा उपचारकै क्रममा हिजो मृत्यु भएको हो ।

यस्तै ललितपुरको महालक्ष्मी ५ का ५० वर्षिय पुरुषको आज विहान मृत्यु भएको हो । ५ महिना अघि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण गरेका पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । नर्भिक अस्पतालमा उपचारका क्रममा कोरोना पोजेटिभ देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो ।

कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । जसमा महिला १ हजार १ सय ४२ र पुरुष १० हजार २० जना रहेका छन् । बिहीबार महिला ४८ र पुरुष ३ सय ८६ गरी ४ सय ३४ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए ।

गत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ५ सय ४३ गरी आजसम्म १ लाख ९९ हजार ७ सय ३७ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ४ हजार १ सय ६७ गरी आजसम्म २ लाख ८७ हजार ८ सय ६३ जनाको परीक्षण भएको छ ।

अहिले देशभरीका क्वारेन्टाइनमा ७४ हजार २२ जना रहेका छन् । यस्तै ८ हजार ४ सय २२ जना आइसोलेसनमा रहेका छन् । बिहीबार महिला १९ र पुरुष २ सय ९३ गरी ३ सय १२ जना डिस्चार्ज भएका छन् । आजसम्म २ हजार ६ सय ५० जना डिस्चार्ज भएको उनले बताए ।

Logo