सुदूरपश्चिम प्रदेशमा कुल सङ्क्रमितमध्ये ६८ प्रतिशत युवा

सुदूरपश्चिम प्रदेशमा कुल सङ्क्रमितमध्ये ६८ प्रतिशत युवा

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर ।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना सङ्क्रमण युवामा देखिएको छ । कुल सङ्क्रमितमध्ये ६८.५२ प्रतिशत युवा रहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको नौ वटै जिल्लामा गरी सोमबारसम्म एक हजार १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सबैभन्दा बढी सङ्क्रमित २० देखि २९ वर्षका छन् । सो उमेर समूहका ५२७ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

त्यसैगरी ३० देखि ३९ वर्ष उमेर समूहका २५७, १० देखि १९ वर्ष उमेर समूहका १३८, ४० देखि ४९ वर्ष उमेर समूहका ९६, ५० देखि ५९ उमेर समूहका ४०, ६० देखि ६९ वर्ष उमेर समूहका ११ र ७० देखि ७९ वर्ष उमेर समूहका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार १८ जना सङ्क्रमितको उमेर समूह खुलेको छैन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले धेरै जसो सङ्क्रमण विदेश र त्यसमा पनि भारतबाट आएकामा देखिएकाले युवाको सङ्ख्या बढी भएको बताए । उनले भने, “रोजगारीका लागि जानेहरू अधिकांश युवा उमेरका छन्, अहिले विदेशबाट फर्किनेमा बढी केस देखिएकाले युवाको सङ्ख्या धेरै देखिएको हो ।”

“बालबालिका र वृद्धवृद्धाहरुलाई सङ्क्रमण जोखिम भनिए पनि हामीकहाँ लाखौं युवाहरु रोजगारीका लागि भारत गएर फर्किएका छन्”, उनले भने, “अहिलेसम्म समुदायमा सङ्क्रमण फैलिइसकेको छैन ।” उनले भारतबाट युवा पुस्ता कोरोना लिएर फर्किएको बताए। “केही दिन अघि अत्तरीयाका बस व्यवसायीको भने अलपत्र यात्रुहरुको उद्दार तथा हिड्डुल गर्दा कोरोना सङ्क्रमण देखिएर मृत्यु भयो ।” डा. अवस्थीले भने, “सुदूरपश्चिममा दुबईबाट फर्किएका धनगढीका युवकका भाउजुमा मात्रै स्थानीय सङ्क्रमण देखिएको थियो, उनी निको भएर घर फर्किसकेको अवस्था छ ।”

भारतबाट सुदूरपश्चिम प्रदेशमा जेठ महिनामा वैध नाकाबाट मात्रै एक लाख नागरिक स्वदेश फर्किएको सरकारी तथ्याङ्क छ ।सङ्क्रमण पुष्टि भएका बिरामीहरु आइसोलेसन, क्वारेन्टाइन र होम क्वारेन्टाइनमा छन् । भारत लगायत अन्यत्रबाट आएका २९ हजार ९२८ जना यहाँका ८८ वटा स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टाइनमा बसिरहेका छन् ।

कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालका कोभिड–१९ का सम्पर्क व्यक्ति डा.सरोज आचार्यले अस्पतालमा सङ्क्रमित आउने र निको भएर जाने क्रम चलिरहेको बताए । “अहिलेसम्म उपचारमा रहेका सबैको अवस्था सामान्य नै छ”, उनले भने, “सोमबारसम्म ४४ जना निको भएर फर्किसकेका छन् ।” उनले क्वारेन्टाइनमा रहेकाहरुको कोरोना परीक्षण भएकाले पनि युवा पुस्तामा बढी देखिएको बताए । “क्वारेन्टाइनमा बस्ने भनेका अधिकांश भारतबाट फर्किनेहरु छन्”, उनले भने, “यहाँ समुदायमा सङ्क्रमण फैलिएको छैन ।”

सुदूरपश्चिमका कैलालीमा तीन र बाजुरामा एक गरी चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । पीसीआर विधिबाट कोरोना परीक्षणका लागि १७ हजार ६११ जनाको स्वाब लिएकोमा ११ हजार पाँच जनाको परीक्षण गरिएको छ । “धनगढीको प्रयोगशालामा दैनिक २५० जनासम्मको मात्रै परीक्षण गर्न सकिन्छ”, निर्देशनालयका निर्देशक डा. अवस्थीले भने, “पछिल्लो समय चाप बढेपछि जनस्वास्थ्य प्रयोगशाला टेकुमा समेत स्वाब परीक्षणका लागि पठाइरहेका छौं ।” त्यसैगरी यहाँ ९६ हजार २४२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएकोमा हालसम्म ७ हजार ४९४ जनामा कोरोना पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।

पीसीआर र आरडीटी गरी दुवै विधिबाट यहाँ कोरोना परीक्षण गरिँदा सबैभन्दा बढी सङ्क्रमित कैलालीमा देखिएको निर्देशनालयले जनाएको छ । सङ्क्रमितहरुको सङ्ख्या हेर्दा सुदूरपश्चिमको डडेल्धुरा दोस्रो स्थानमा छ । कोभिड–१९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले डडेल्धुरामा २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । “तीन जना बाहेक सबै भारतबाट फर्किएकाहरुमा कोरोना देखिएको छ”, उनले भने, –“डडेल्धुरा अस्पतालमा अहिले पीसीआर मेसिन जडान कार्य चलिरहेको छ ।” उनले आगामी एक सातामा डडेल्धुरामा कोरोना परीक्षण गर्ने गरी जडान कार्य चलिरहेको बताए।रासस

Logo