कोरोना सङ्क्रमण भएका महिलाले पनि नियमितरुपमा स्तनपान गराउन सक्ने

कोरोना सङ्क्रमण भएका महिलाले पनि नियमितरुपमा स्तनपान गराउन सक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोभिड–१९ को सङ्क्रमण भएका महिलाले बच्चालाई स्तनपान गराउन सक्नेछन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा बच्चालाई स्तनपान गराउँदा कोभिड–१९ नसर्ने भएकाले कोभिड– १९ भएका महिलाले पनि स्तनपान गराउन सक्ने बताइन् ।

“कोभिड भएको महिलालाई स्तनपानमा कुनै समस्या देखिएको छैन, कुनै पनि कारणले बच्चालाई स्तनपान गरायो भने बच्चामा कोभिड–१९ सर्दैन भन्ने अनुसन्धानबाट आएको छ”, उनले भनिन्, “त्यही भएर कोभिड १९ भएको महिलाले पनि आफ्नो बच्चालाई आरामले स्तनपान गराउन सक्नेछन् ।”

उनले कोभिड १९ सँग डराएर गर्भवती महिला नियमित स्वास्थ्य परीक्षण नगराएको भन्दै नडाई सतर्कता र सावधानी अपनाएर नियमित परीक्षण गर्न आग्रह गरिन् । उनका अनुसार गर्भवती महिलाले तीन, छ, आठ र नौ महिनामा अनिवार्य स्वास्थ्य परीक्षण गराउनु पर्दछ ।

अस्पतालका निर्देशक डा मिश्रले बन्दाबन्दीका कारण संस्थागत प्रसूति गराउने महिला घटेको समेत बताइन् । उनले गर्भवती महिलालाई रक्तश्राव, पेट दुख्ने, बच्चा नचलेको, नियमित परीक्षण गर्नुपर्ने भन्दै उच्च रक्तचाप भएका बेलामा आँखा धमिलो देख्नु, पेट दुखेमा तुरुन्त अस्पताल जान पनि सुझाव दिइन् । यसबाहेक १०४ डिग्रीभन्दा बढी ज्वरो आएकामा श्वासप्रश्वासमा समस्या भएमा पनि अस्पताल जानुपर्दछ ।

उनले प्रसूति गराउन अनिवार्यरुपमा स्वास्थ्य संस्थामा जान समेत आग्रह गरिन् । डेलीभरि भएपछि पनि पहिलो, तेस्रो, सातौं र २८ औं दिनमा नजिकको स्वास्थ्य संस्थामा गई वा चिकित्सकसँग टोलिफोन गरी आफ्ना समस्या सामाधान गर्नुपर्ने उनको भनाइ रहेको थियो ।

मन्त्रालयले मातृ तथा नवजात शिशुलाई कोभिड–१९ सम्बन्धी मापदण्ड तयार पारेकाले त्यही अनुसार स्थानीय अस्पतालले सुत्केरी महिलालाई सेवा दिइने उनले बताइन्। अस्पतालले गर्भवती महिलालाई सेवाविमुख गराउन नपाउने उनको भनाइ थियो । महिलालाई नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एशोसिएसनले चिकित्सकको सूची नै जारी गरेर फोनमा नै परामर्श दिने व्यवस्था गरेको उनले जानकारी दिइन् ।

प्रसूति अस्पतालले के गर्दैछ ?

उनले प्रसूति अस्पतालले कुनै पनि महिला अस्पतालमा आए उनीहरुलाई सेवा दिइरहेको बताइन् । “कोभिड १९ छैन भने उनीहरुलाई नियमित सेवा दिने र कोभिड भए छुट्टै राखेर सेवा दिएका छौँ”, उनले भनिन्, “हामीले हेल्पडेस्क स्थापना गरेर पनि सेवा दिइरहेका छौँ ।”

अस्पतालले बहिरंग सेवा, शल्यक्रिया, परिवार नियोजन सेवा नियमित दिइरहेको छ । अस्पतालका निर्देशक डा. मिश्रले पाठेघरको सेवा पनि चाँडै सञ्चालन गर्न गइसकेको जानकारी दिइन् । उनले एम्बुलेन्स कहीँ पनि सरकारले नरोकेकाले सुत्केरी महिलाले कुनै पनि एम्बुलेन्स प्रयोग गर्न सक्ने बताइन् । काठमाडौंमा १०२ र बाहिर १०० नम्बर डायल गरेर महिलाले एम्बुलेन्स सेवा पाउने उनले जानकारी दिइन् ।रासस

Logo