रुपन्देहीको भीम अस्पतालबाट आज २५ जना सङ्क्रमित डिस्चार्ज, अस्पताल खाली

रुपन्देहीको भीम अस्पतालबाट आज २५ जना सङ्क्रमित डिस्चार्ज, अस्पताल खाली

केन्द्रबिन्दु
0
Shares

रुपन्देही ।

रुपन्देहीको भीम अस्पतालमा भर्ना भएका सबै कोभिड–१९ सङ्क्रमित आज घर फिर्ता भएका छन् । अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका सङ्क्रमित २५ जनालाई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालको सूचना शाखाले जनाएको छ ।

डिस्चार्ज हुनेमा चार वर्षीया बालिकादेखि ५० वर्ष उमेरसम्मका छन् । घर फिर्ता हुनेमध्ये नवलपरासीका तीन , भारतिय एक र रुपन्देहीका २१ जना भएको प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए । कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि २० दिन पहिलादेखि अस्पतालमा बिरामी भर्ना शुरु गरिएको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा नवीन दर्नालले सबै बिरामीको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए । सङ्क्रमित हुने सबै भारतबाट नेपाल प्रवेश गरेका मात्र छन् ।

सङ्क्रमितलाई सामान्य श्वासप्रश्वास र उच्च रक्तचापबाहेक कुनै समस्या नपाइएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए । सङ्क्रमणबाट निको भई घर फिर्ता हुन लागेका बिरामीले पनि शुरुमा कोभिड–१९ सङ्क्रमण भए भन्दा डर बढी लागे पनि शरीरमा कुनै समस्या नआउँदा सामान्य रुपमा लिइएको बताएका छन् ।

उनीहरुले घर फिर्ता हुन लाग्दा अस्पताल परिसरमा केही बेर नाचगानसमेत गरेका थिए । उनीहरुलाई मन्त्री बराल र प्रदेशसभा सदस्य सन्तोष पाण्डेले बिदाइ गरे । सङ्क्रमित बिदाइसँगै अस्पतालको आइसोलेशन वार्ड पूरै खाली भएको छ ।रासस

Logo