‘कोरोनाविरुद्ध लड्न राष्ट्रिय सहमति आवश्यक छ’ : कांग्रेस नेता जोशी

‘कोरोनाविरुद्ध लड्न राष्ट्रिय सहमति आवश्यक छ’ : कांग्रेस नेता जोशी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले सरकारले कोभिड–१९ विरुद्ध सरकारले चालेको उपाय अपुग भएको बताएको छ । प्रतिष्ठानले अनलाइनमार्फत आइतबार विज्ञहरुसँग गरेको छलफलमा सरकारले हाल अवलम्बन गरेका नीति, प्रक्रिया र संयन्त्रले कोभिड–१९ ले सिर्जना गरेको चुनौती विरुद्ध लड्न नसकिने बताएको हो ।

प्रतिष्ठानका अध्यक्ष एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीले सरकारले कोभिड–१९ का विरुद्धमा चालेका कदमबारे राष्ट्रिय सहमति सिर्जना गर्नेमा कमी देखिएको बताए । “भाइरस सङ्क्रमको दर अझै बढ्न सक्छ, राजनीतिक दल, नागरिक समाज, निजी एवम् गैरसरकारी क्षेत्रका विज्ञ, व्यवयासी तथा साझेदारहरुको समेत सहभागिता गराई राष्ट्रिय एकतावद्ध झल्किने रणनीतिक तथा विस्तृत कार्यनीति अविलम्ब तर्जुमा हुनुपर्छ”, उनले भने ।

प्रतिष्ठानले देशको आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव न्यून गर्न तथा जनताको सामाजिक तथा मानसिक सुस्वास्थ्य कायम गर्न सामाजिक दूरी कायम गर्दै बन्दाबन्दी घटाउँदै जानुपर्ने बताएको छ । भारत लगायत विदेशमा रहेका नागरिकलाई देश फर्किने अनुमान र कोभिड–१९ सङ्क्रमण पुष्टि भएको बढ्दो सङ्ख्यालाई ध्यानमा राख्दै सरकारले सार्वजनिक निकाय बाहिर रहेका प्राविधिक विज्ञको सहयोगमा क्वारेन्टाइनको क्षमता तथा व्यवस्थापनको गुणस्तर सुधार गर्दै लैजानु पर्ने प्रतिष्ठानले बताएको छ ।

प्रतिष्ठानले गर्भवती महिला लगायत जरुरी स्वास्थ्य सेवा चाहिने व्यक्तिका लागि यातायात तथा समयमै उपचार हुने व्यवस्था मिलाउनु पर्ने बताएको छ । छलफलमा निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेल, शिक्षाविद् डा केदारभक्त माथेमा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षत्रय डा स्वर्णिम वाग्ले, डा जगदीशचन्द्र पोखरेल र डा गोविन्दराज पोखरेल तथा वीर अस्पतालका डा भूपेन्द्र बस्नेत एवं वरिष्ठ पत्रकार प्रतीक प्रधान र पत्रकार राजेन्द्र दाहालले भाग लिएका थिए ।रासस

Logo