काभ्रेका क्वारेन्टाइनहरुमा ९९ जनाको उपचार हुँदै : सुरक्षाको जिम्मा ३ सुरक्षा निकायलाई

काभ्रेका क्वारेन्टाइनहरुमा ९९ जनाको उपचार हुँदै : सुरक्षाको जिम्मा ३ सुरक्षा निकायलाई

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।
काभ्रेका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनमा ९९ जनाको उपचार भइरहेको छ । भारतबाट नेपाली नागरिक आउने क्रम बढ्दै गएका कारण क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढ्दै गएको छ ।

शनिबारसम्ममा ८९ पुरुष र १० महिलालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिए । अहिले क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढ्दै गएपछि जिल्ला सुरक्षा समितिले क्वारेन्टाइनको सुरक्षाका लागि तीनवटा सुरक्षा निकायलाई जिम्मा दिने निर्णय अनुरुप ती क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

उनका अनुसार बनेपा, धुलिखेल, पनौती र नमोबुद्ध नगरपालिका, रोशी र बेथानचोक गाउँपालिकाको क्वारेन्टाइनको सुरक्षाको जिम्मा धुलिखेलमा रहेको नेपाली सेनाको विष्णु दल गण, चौरीदेउराली, खानीखोला, महाभारत र तेमाल गाउँपालिकाको जिल्ला प्रहरी कार्यालय काभ्रे तथा पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा भुम्लु गाउँपालिकाको क्वारेन्टाइनको सुरक्षा व्यवस्था सशस्त्र प्रहरी बल १५ नम्बर गण हेडक्वाटर पाँचखालले लिएको जनाइएको छ ।

क्वारेन्टाइनको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने काममा लागिरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार जिल्लाको १३ वटा स्थानीय तहमध्ये ६ वटा नेपाली सेनालाई, तीनवटा सशस्त्र प्रहरी बललाई र चारवटा जिल्ला प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न जिम्मा दिएको हो । शुक्रबारसम्ममा भारतबाट काभ्रे जिल्लामा ७२ जना नागरिक आइसकेको र उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिएको छ । भारतबाट यस जिल्लामा करिब एक हजार १२५ जना नागरिक आउने सम्भावना रहेको उनले जानकारी दिए ।

उनका अनुसार भारतबाट आएका दुर्गम क्षेत्रका गाउँपालिकाका नागरिकको जिल्ला सदरमुकाममा नै पिसिआर परीक्षण गरेर मात्रै सम्बन्धित पालिका पठाउने र सुगमका नागरिकको भने सम्बन्धित गाउँपालिकाको क्वारेन्टाइनमा नै पिसिआर परीक्षण गर्ने तयारी भइरहेको छ ।

जिल्ला सङ्कट व्यवस्थापन समितिको गत जेठ ९ गते बसेको बैठकले धुलिखेल र बनेपा नगरपालिकामा तीन/तीन सय शैयाको क्वारेन्टाइन र अन्य पालिकामा एक÷एक सय शैयाको आधारभूत सुविधासहितको क्वारेन्टाइन कक्ष तयारी अवस्थामा राख्ने निर्णय गरेको थियो ।रासस

Logo