प्रदेश नं. २ मा कोरोना सङ्क्रमितको संख्या ५५३ पुग्यो

प्रदेश नं. २ मा कोरोना सङ्क्रमितको संख्या ५५३ पुग्यो

केन्द्रबिन्दु
0
Shares

पर्सा ।

प्रदेश नं. २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५५३ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ५७ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद पोखरेलले पत्रकार सम्मेलनमार्फत जानकारी गराए।

यसअघि यस प्रदेशमा ९८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यस प्रदेशका आठवटै जिल्लामा एकैपटक सो अवधिमा कोरोना सङ्क्रमित फेला परेको हो । नयाँ थपिएका ५७ जना सङ्क्रमितमा सप्तरीमा नौ, सिरहामा ११, धनुषामा सात, महोत्तरीमा चार, रौतहटमा १७, बारामा एक र पर्सामा दुई जना छन् ।

यस प्रदेशमा सबैभन्दा बढी रौतहटमा कोरोना सङ्क्रमितको सङ्ख्या १८८ पुगेको छ । पर्सामा तीन भारतीयसमेत गरी १०३, सर्लाहीमा ६२, बारामा ५४, धनुषामा ४९, सप्तरी ४३, महोत्तरी २७ र सिरहा २५ जना कोरोना सङ्क्रमित रहेका छन् ।

स्वाब र क्वारेन्टाइनको अवस्था

यस प्रदेशमा स्वाबको नमूना सङ्कलन कार्यलाई तीव्र बनाइएको छ । शनिबार एकैदिनमा ९४० जनाको स्वाबको नमूना सङ्कलन गरिएको सचिव डा घिमिरेले जानकारी गराए। अहिलेसम्म यस प्रदेशमा १२ हजार ५६६ जनाको स्वाबको नमूना सङ्कलन गरिएकामा नौ हजार ९०९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई हजार १०३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या र भारतबाट फर्कनेको सङ्ख्या व्यापकरुपमा बढ्न थालेपछि क्वारेन्टाइनको सङ्ख्यामा पनि निरन्तररुपमा वृद्धि भइरहेको छ । यस प्रदेशमा ३७१ वटा क्वारेन्टाइनमा २५ हजार ३२२ शैयाको व्यवस्था गरिएको छ । यतिखेर विभिन्न क्वारेन्टाइनमा २० हजार ९३३ जना, होम क्वारेन्टाइनमा पाँच हजार ७१३ जना र आइसोलेसनमा ३०८ जना बसेका छन् । आइसोलेसन कक्षमा ७४४ वटा शैयाको व्यवस्था गरिएको छ ।रासस

Logo