नेपालमा कोरोना सङ्क्रमण दर तीन अङ्कले बढ्दै

नेपालमा कोरोना सङ्क्रमण दर तीन अङ्कले बढ्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विगत केही दिन यता नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन अङ्कमा बढिरहेको छ । शुक्रबार मात्र नेपालमा थप १७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको परीक्षणमा १७० जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा सङ्क्रमितको सङ्ख्या एक हजार २१२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनामा कोरोना पुष्टि भएको बताए । उनले कपिलवस्तु भृकुटीमण्डप कृष्णनगर क्वारेन्टाइनमा रहेका सात वर्षका बालकदेखि ५२ वर्ष उमेरसम्मका २३ जना, रौतहट राजपुर फर्दवाका २ जना बालिकासहित २२ देखि ६० वर्ष उमेरसम्मका ५४ जना पुरुष संक्रमित रहेको बताए । यस्तै, सर्लाही मलङ्गवाका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । डा.देवकोटाका अनुसार रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तु गौतमबुद्धका १७ देखि ४४ वर्ष उमेर सम्मका १६५ जना पुरुषलाई कोरोना पुष्टि भएको छ । प्रवक्ता देवकोटाका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा ११ जनालाई कोरोना पुष्टि भएको छ । दाङ गडवाका २ जना, कपिलवस्तु विजयनगरका नौ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी, कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनालाई कोरोना पोजिटिभ देखिएको छ । यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा पाँच जनालाई कोरोना पुष्टि भएको छ । जसमा सप्तरी राजविराजका चार र झापा भद्रपुरका एक जना पुरुष छन् । शुक्रबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नौ जनामा कोरोना पोजिटिभ देखिएको छ । जसमा बारा चन्द्रौटा राष्ट्रिय मावि क्वारेन्टाइनका चार जना, पर्सा पोखरियाका चार जना, पर्सा भवानीपुरका एक जना छन् ।

यस्तै पाटन अस्पतालमा गरिएको परीक्षणमा सर्लाहीकी ३१ वर्षकी महिलालाई कोरोना पुष्टि भएको छ । हाल उनी पाटन अस्पतालमा नै रहेकी छिन् । प्रवक्ता देवकोटाका अनुसार गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दी मालिकाका ३० वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको छ भने भेरी अस्पताल, बाँकेमा गरिएको परीक्षणमा १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमा सबै जना बाँके डुडुवाका छन् । यसैगरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका चार जना, नवलपरासीका दुई जनामा कोरोना सङ्क्रमण भएको छ । हालसम्म नेपालमा एक हजार १०३ जना पुरुष र १०९ जना महिला सङ्क्रमित भएका छन् ।

प्रवक्ता देवकोटाले २४ घण्टामा तीन हजार २३८ जनाको पीसीआर र तीन हजार ४४४ जनाको आरडिटी विधिबाट परीक्षण भएको छ । हालसम्म पीसीआरबाट ६४ हजार १५४ जना र एक लाख पाँच हजार ४७८ जनाको आरडिटीबाट परीक्षण भएको छ । उनले शुक्रबार टेकु अस्पतालबाट दुई, पाटन अस्पतालबाट सात,सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट दुई, कोरोना विशेष अस्पताल दाङबाट ८ जना गरी १९ जना डिस्चार्ज भएको जानकारी दिनुभयो । योसँगै निको भएर घर जानेको सङ्ख्या २०६ पुगेको छ ।

यसरी दैनिक रुपमा संक्रमण हुने दर बढीरहेको छ । बुधबार ११४ जना र विहिबार एकैदिन १५६ जना तथा शुक्रबार १७० नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमण तीन अङ्कले बढ्दै गएको हो ।गोरखापत्रबाट

Logo