कपिलवस्तुमा हालसम्म चार पत्रकारसहित संक्रमितको संख्या १८८

कपिलवस्तुमा हालसम्म चार पत्रकारसहित संक्रमितको संख्या १८८

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु ।
कपिलवस्तुमा शुक्रबार नाबालकसहित ५२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये ३६ यशोधरा गाउँपालिकाका भएको र बाँकी चार पालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोनो फोकल पर्सन कुमार थापाले जानकारी दिए ।

सङ्क्रमितमध्ये सात महिने नाबालक वडा नम्बर ५ को अनिरुथ माविको क्वारेन्टाइनमा बसेका थिए । अन्य २२ जना वडा नं. ६ को वासुदेव जनता माविको क्वारेन्टाइनमा, चार जना वडा नम्बर ३ को तीर्थधार्मिक माविमा र सात जना वडा नम्बर ७ मा रहेको जनता माविमा रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले जानकारी दिए ।

जिल्लाको कृष्णनगर नगरपालिकामा ११ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये दुई जना नगरपालिकाकै कर्मचारी रहेको नगरपालिकाका स्वास्थ्य संयोजक अनिलकुमार विश्वकर्माले जानकारी दिए । उनका अनुसार अन्य नौ जना १४ दिन अघि भारतबाट आएका थिए । जसमा वडा नम्बर १० मा दुई , वडा नम्बर १ मा चार, वडा नं ५ मा एक र वडा नम्बर २ मा दुई जनामा कोरोना पुष्टि भएको छ । उनीहरु आआफ्नो वडामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका थिए ।

विजयनगर गाउँपालिकाको वडा नम्बर ७ मा दुई र वडा नम्बर ३ मा एक जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष गोपाल थापाले जानकारी दिए । तीनैजना भारतबाट केही साता अघि निर्माण गरिएको रामशरण प्राविको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई गाउँपालिकामा निर्माण गरिएको आइसोलेशनमा राखी उपचार गरिनेछ ।

बुद्धभूमि नगरपालिकामा एक पत्रकारसहित अर्का वडा नम्बर ८ का एकमा सङक्रमण पुष्टि भएको छ । उनी केही दिन अघि भारतबाट आएर वडामा निर्माण गरिएको निम डाँडा माविको क्वारेन्टाइनमा बसेको बुद्धभूमि नगरपालिकाका स्वास्थ्य प्रमुख डोलविक्रम बेल्वासेले जानकारी दिए । दुई जनाको अवस्था सामान्य छ ।

कपिलवस्तुमा अहिलेसम्म चार पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पुनः एकमा सङक्रमण देखिएसँगै सङक्रमित पत्रकारको सङख्या चार पुगेको हो । यसअघि बाणगङ्गामा दुई र कपिलवस्तु नगरपालिकामा एक सङ्क्रमित देखिएका थिए ।
पत्रकारमध्ये तीन पुरुष र एक महिला सङक्रमित भएका हुन् । सङ्क्रमण पुष्टि भएका दुई पत्रकार तौलिहवास्थित माहुरी होमको गेष्टहाउसमा संचालित आइसोलेशनमा तथा दुई जना बुटवलस्थित एन्फा एकेडमीको आइशोलेशन अस्पतालमा छन् । यससँगै कुल सङ्क्रमितको संख्या जिल्लामा १८८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सङक्रमित ५२ मध्ये ४९ भारतबाट केही साता अघि आएका थिए ।रासस

Logo