थपिए १७० जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुग्यो

थपिए १७० जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ । आजै मात्र १७० जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यसको जानकारी दिएको हो । संक्रमित मध्ये २०६ जना निको भएका छन् । आज मात्र १९ जना निको भएका हुन् । मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । बुधबार एकै दिन ११४ जना र विहिबार १५६ जना नयाँ संक्रमित थपिएका थिए ।

पछिल्ला दिनहरुमा दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको छ । हालसम्म ५२ जिल्लामा कोरोना संक्रमित देखिएका पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । अर्घाखाँचीका २५ वर्षिय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो । गत जेठ १० गते भारतबाट आएका ती पुरुषको नमुना संकलन गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । योसँगै मृत्यु संख्या ६ पुगेको हो । उनी अर्घाखाँचीका भूमिकास्थान नगरपालिकाका ३५ वर्षिय पुरुष रहेका छन् । मृतक ती पुरुषको हिजो आएको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको हो । उनीसँगै सम्पर्कमा आएका अन्य व्यक्तिहरुको नमुना लिने काम जारी रहेको उनले बताए । शुक्रबारसम्म २ सय ६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

शुक्रबार नेपालमा १ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । प्रवक्ता देवकोटाका अनुसार कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै धरानमा भएको परीक्षणमा सप्तरीका ४ सहित ५ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ५ गरी ९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित महिला रहेको र सर्लाही घर भइ अहिले पाटन अस्पतालमै रहेको उनले बताए । यस्तै गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासीका २ सहित ६ जनामा पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनामा पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा पोजेटिभ देखिएको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ गरी अहिलेसम्म ६४ हजार १ सय ५४ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी परीक्षण १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा आरडिटी विधिबाट ३ हजार ४ सय ४४ जनाको नमुना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा रहनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । शुक्रबारसम्म एक लाख नजिक क्वारेन्टाइनमा बस्नेहरुको संख्या छ । देशभरीका विभिन्न क्वारेन्टाइनमा ९९ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् । अहिले विभिन्न अस्पतालमा १ हजार जना कोरोना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

Logo