नेगेटिभ रिपोर्ट आएपछि गोकर्णेश्वरका २ जना र दाङका ८ जना संक्रमित डिस्चार्ज

नेगेटिभ रिपोर्ट आएपछि गोकर्णेश्वरका २ जना र दाङका ८ जना संक्रमित डिस्चार्ज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गोकर्णेश्वर नगरपालिकाका दुईजना कोरोना सङ्क्रमितका पछिल्लो दुईपटक गरिएको पिसिआर परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।

नगरपालिकाको वडा नं ४ किसिगालका ५७ वर्षीय पुरुष र वडा नं ७ शिवचोकका ३५ वर्षीय पुरुषमा पोजेटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेशन कक्षमा राखी उपचार गरिएको थियो । पछिल्लो दुईपटकको सो परीक्षणका क्रममा नेगेटिभ आएपछि दुवैलाई घर पठाइएकामा हाल दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि घिमिरेले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

किसिगालका ५७ वर्षीय पुरुष भन्सार कार्यालय भैरहवामा हल्का सवारी चालक पदमा कार्यरत रहेको र शिवचोकका ३५ वर्षीय पुरुष ग्राण्डी अस्पतालमा कार्यरत रहेको नगरपालिकाले जनाएको छ । दुवै सङ्क्रमितमा नेगेटिभ प्रतिवेदन प्राप्त भएको खबरपछि नगरपालिकाको जनजीवन सामान्य बनेको छ ।

विषम परिस्थितिमा घरमै बस्न, पटक पटक साबुन पानीले हात धुन र अत्यावश्यक कामका लागि बाहिर निस्कनै परेमा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न नगरपालिकाले आह्वान गरेको छ । दुवैजनाका सम्पर्कमा आएका मानिसमा गरिएको परीक्षणमा कोभिड–१९ नभेटिएको पनि उनले बताए ।

कोरोना जितेर आठ फिर्ता

उता दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आज आठ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना विशेष अस्पतालमा जेठ २ गते भर्ना भएका उनीहरुलाई दुईपटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोणबहादुर वलीले जानकारी दिए ।

वलीका अनुसार घर फर्कनेमा कपिलवस्तुका चार, बाँकेका तीन र दाङ, गढवाका एक छन् । कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका ४५ मध्ये आठ जना निको भएपछि ३७ कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालमा रुकुम (पूर्व), रुपन्देही, कपिलवस्तु , बाँके , दाङ र बर्दियाका छन् । उपचार गराइरहेकामध्ये दुई महिला भएको वलीले बताए।रासस

Logo