प्रदेश नं. ५ : निको भएर बुटवल अस्पतालबाट फर्किए दश संक्रमित

प्रदेश नं. ५ : निको भएर बुटवल अस्पतालबाट फर्किए दश संक्रमित

केन्द्रबिन्दु
0
Shares

बुटवल ।

बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका दश कोरोना संक्रमित आज निको भएर घर फर्किएका छन् । दुई हप्ता अगाडि कोरोना संक्रमण भएर अस्पतालको आइसोलेशनमा भर्ना भएका कपिलवस्तुका युवाहरु निको भएर घर फर्किएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुुदर्शन थापाले जानकारी दिए । “उहाँहरुमा आत्मबल बलियो भएका कारण उपचारमा सहज भयो ”, थापाले भने । निको हुने व्यक्ति १६ देखि ४० वर्ष उमेर समूहका छन् ।

भारतबाट लुकिछिपी आएका युवामा संक्रमण देखिएको थियो । संक्रमितको लगातार दुई कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । “कोरोनाबाट डराउनु पर्दैन । मनोबल उच्च राखे छिट्टै निको हुन्छ”, डा थापाले भने, यसबाट बच्न घरमै रहनु नै उत्तम हुन्छ ।”

बुटवलको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराएकामा कपिलवस्तुका दश जना डिस्चार्ज भए पनि आजै थप सात जना संक्रमित भर्ना भएको डा थापाले जानकारी दिए । यस अघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवक निको भएर घर फर्किएको थियो । शुक्रबार बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना कोरोना जितेर घर फर्किएका थिए ।

मुख्यमन्त्रीको बधाई
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको प्रदेशस्तरीय कोरोना विशेष अस्पतालबाट कोरोना भाइरस जितेर बिदा भएका युवालाई बधाई दिएका छन् । “बधाई स्वास्थ्य लाभ गर्नु हुने सबैलाई । अनि बधाई छ उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापक र अन्य सहयोगी सबैलाई”, सामाजिक सञ्जालमार्फत मुख्यमन्त्रीले भनेका छन् ।
प्रदेशमा कोरोना भाइरस जित्नेहरुको कुल संख्या ३२ पुगेको जनाइएको छ । यसअघि सोही अस्पतालबाट एक र बाँकेको खजुरास्थित प्रदेशस्तरीय कोरोना विशेष अस्पतालवाट २१ जना स्वास्थलाभ गरी घर फर्किएको थाहा भएको छ ।रासस

Logo