कैलालीमा सङ्क्रमितको सम्पर्कमा आएकाको खोजी

कैलालीमा सङ्क्रमितको सम्पर्कमा आएकाको खोजी

केन्द्रबिन्दु
0
Shares

कैलाली ।
कैलाली जिल्लामा तीन कोराना संक्रमित देखिएसँगै उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिको खोजी शुरु गरिएको छ ।

जिल्लाको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुसँग सम्पर्कमा आएकाहरुको खोजी शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले बताए । ‘हामीले इलाका प्रहरी कार्यालय टीकापुरसँग समन्वय गरी सम्पर्कमा आएकाहरुको खोजी शुरु गरेका छौंँ ’, चौधरीले भने । गाउँपालिका वडा नम्बर ४ र ७ का उनीहरु भारतको महाराष्ट्र, नेपालगञ्ज र इटहरीबाट आएको बताइएको छ । भारतबाट आएका संक्रमित जेठ १ गते कैलालीको सत्ती भन्सार नाका हुँदै जानकी गाउँपालिका पुगेका थिए ।

त्यस्तै इटहरीबाट आएका युवक गत वैशाख ३० गते र नेपालगञ्जबाट आएका युवक जेठ ३ गते गाउँपालिका पुगेको जानकी गाउँपालिकाका स्वास्थ्य संयोजक चौधरीले जानकारी दिए ।

संक्रमितलाई क्वारेन्टाइनमा राखिएको थियो । संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी शुरु गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख मनोहरप्रुसाद भट्टले जानकारी दिए । टीकापुर नगरपालिकासँग प्रत्यक्ष सीमा जोडिएको हुँदा टीकापुर नरगपालिकामा पूर्ण सतर्कता अपनाइएको छ ।

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले छिमेकी पालिकामा संक्रमण देखिँदा नगरपालिकामा उच्च जोखिम रहेको बताउँदै आवागमनलाई पूर्णरुपमा निषेध गर्ने विषयमा छलफल गरिने जानकारी दिए।

सङ्क्रमितलाई टीकापुर अस्पताल लगिने

लम्की –सुदूरपश्चिममा पाँच जना कोरोना भाइरस संक्रमित निको भएको दुई सातापछि शुक्रबार भेटिएका कोरोना संक्रमित बाँके, इटहरी र भारतबाट आएर जानकी गाउँपालिकाको स्थानीय सरस्वती माविको क्वारेन्टाइनमा बसेको र पिसिआर परीक्षण गर्दा पोजिटिभ देखिएको गाउँपालिकाका अध्यक्ष प्रदीप चौधरीले जानकारी दिए।

गाउँपालिकाले १६ जनाको पिसिआर परीक्षण गर्न धनगढी पठाएको थियो । संक्रमितलाई उपचारका लागि टीकापुर अस्पतालको आइसोलेसन कक्षमा ल्याउन लागिएको टीकापुर अस्पतालका अध्यक्ष दीपक रावलले जानकारी दिए । जानकीमा कोरोना संक्रमण देखिएपछि कैलालीमा त्रास बढेको छ । यसअघि सुदूरपश्चिममा पाँच जनालाई कोरोना संक्रमण देखिएको थियो । उनीहरु पाँचै जना उपचारपछि घर फर्किएका थिए । संक्रमित निको भएको दुई सातापछि थप संक्रमित फेला परेपछि यहाँ त्रास बढेको हो ।

गाउँपालिकाको क्वारेन्टाइनमा ४५ जना बसिरहेका छन् । तीमध्ये तीन जनामा कोरोना देखिएपछि क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी र स्वयंसेवकलाई समेत क्वारेन्टाइनमा राखिएको छ । ‘‘क्वारेन्टाइनमा खटेका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्वयंसेवकलाई क्वारेन्टाइनमा राख्ने तयारी भएको छ’’, गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चौधरीले भने, ‘‘म पनि क्वारेन्टाइनमा बस्न थालेको छु ।’’रासस

Logo