कोरोनाबाट मृतक महिलाका नवजात शिशुको रिपोर्ट नेगेटिभ आएपछि ‘डिस्चार्ज’

कोरोनाबाट मृतक महिलाका नवजात शिशुको रिपोर्ट नेगेटिभ आएपछि ‘डिस्चार्ज’

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

कोरोनाबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुको दोस्रोपटकको पिसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ । धुलिखेल अस्पतालले सुत्केरी आमाको कोरोना भाइरसका कारण हप्ता अघि मृत्यु भएपछि शिशुको दुईपटक पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ की २९ वर्षीया सुत्केरीको कोरोना भाइरसका कारण जेठ १ गते राति उपचारार्थ सो अस्पतालमा पुर्याइएको केही समयपछि नै मृत्यु भएको थियो । उनको १४ दिनको शिशुको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रशासकीय निर्देशक डा रमेश माकजुले जानकारी दिए । उनका अनुसार आजै शिशुसहित आफन्तलाई अस्पतालबाट घर पठाइएको (डिस्चार्ज) छ । महिलाको शिशु, श्रीमान् तथा आमा र बहिनीलाई समेत आइसोलेसनकक्षमा राखी उपचार भइरहेको निर्देशक डा माकजुले बताए ।

उनका अनुसार शिशुलाई शुरुका दिनमा हल्का जण्डिस देखिएको र शरीरमा आएका स–साना बिमिरा दैनिकरूपमा बालरोग विशेषज्ञको निगरानीले आजसम्ममा निको भएकाले डिस्चार्ज गरिएको हो । शिशुको र मृतक महिलाको आफन्तको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

अस्पतालले डिस्चार्ज भएका शिशुसहितका आफन्तलाई सम्बन्धित जिल्लामा एक हप्ताको क्वारेन्टाइनमा राख्न र क्वारेन्टाइनबाट डिस्चार्ज गर्नुपूर्व आरडिटी गर्न सुझाव दिएको छ । “यसबीचमा नवजात शिशु वा परिवारका अन्य सदस्यमा कोभिड–१९ का लक्षण देखा परे मात्र पिसीआर परीक्षण दोहोर्याउनु पर्ने हुन्छ”, निर्देशक डा माकजुले भने । उनका अनुसार १० दिनकी सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भए लगत्तै उनका शिशुसहित आफन्तको परीक्षणका लागि स्वाब सङ्कलन गरी सावधानीपूर्वक आसोलेसनमा राखिएको थियो ।

मृतकका श्रीमानका अनुसार वैशाख २४ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा सुत्केरी भएकी र २५ गते अस्पतालबाट डिस्चार्ज भइ सिन्धुपाल्चोकस्थित घर गएको केही दिनपछि उनीलाई स्वासप्रस्वासमा समस्या देखिएको थियो । बाह्रबिसेस्थित अस्पतालमा आरडिटीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि उपचारार्थ धुलिखेल ल्याइएको परिवारले जनाएको थियो । गत शनिबार साँझ मात्रै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती महिला कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि गरेको थियो । मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुने ती महिला नेपालमा पहिलो हुन् । ती महिलासहित नेपालमा हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

साँगाबाट फर्काइए मजदुर

कोरोना भाइरस सङ्क्रमण फैलिदै गएको अवस्थामा रोमथाम र नियन्त्रणका लागि एक ठाउँबाट अर्को ठाउँमा आवतजावतमा समेत रोक लगाएको अवस्थामा हिँडेरै साँगामा आइपुगेका भक्तपुरका इँटाभट्टामा काम गर्ने भारतीय मजुदरलाई प्रहरीले फर्काएको छ ।

काभ्रे र भक्तपुरको सीमानाका साँगाबाट आज बिहान ४ बजे लुकीछिपी हिँडेर आइपुगेका १४५ भारतीय मजदुरलाई सीमानाकामा सुरक्षार्थ खटिएका प्रहरीले भक्तपुरतर्फ फर्काएको हो । भारतको विहारबाट आएर भक्तपुरको कुमारी इँटा उद्योग र चाँगुनारायण इँटा उद्योगमा काम गर्दै आएका मजदुर बन्दाबन्दीका कारण समस्यामा परेको भन्दै हिँडेरै जान लागेको अवस्थामा बिहान ४ बजेको समयमा नियन्त्रणमा लिएको सीमानाकामा सुरक्षार्थ खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (सइ) हरिशरण बस्नेतले बताए ।

उनका अनुसार बिपी राजमार्ग हुँदै हिँडेर जाने भन्दै साँगा आइपुगेपछि त्यहींबाट प्रहरीले नियन्त्रणमा लिएर इँटा भट्टा सञ्चालकसँग सम्पर्क गरी त्यहीबाट गाडी मगाएर सोही ठाउँमा फर्काएको हो । बन्दाबन्दीका कारण काम नभएर बसिरहनु परेको र साहुले एक व्यक्ति बराबर हप्ताको रु ६०० प्रदान गरेको रकमले छाक टार्न समस्या भएको र घरबाट पनि फोन आइरहेका कारण हिँडेरै जान भनेर निस्केको उनीहरुले बताएका छन् ।रासस

Logo