विहिबार चितवनमा भेटिएका ३ जना सङ्क्रमितको भरतपुरमा उपचार हुँदै

विहिबार चितवनमा भेटिएका ३ जना सङ्क्रमितको भरतपुरमा उपचार हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार राति कोरोना भाइरस पोजेटिभ देखिएका तीनै जनालाई यहाँस्थित भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल ल्याइएको छ । सो प्रयोगशालामा परीक्षण भएका १३१ जनामध्ये चितवनका दुई र नवलपरासीका एकजनामा पिसिआर परीक्षण पोजेटिभ देखिएको थियो ।

भरतपुर महानगरपालिका वडा नं ६ का वृद्ध दम्पत्तीमा पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धामा पोजेटिभ देखिएको हो । उनीहरु दुवै जेठ ३ गते भारतबाट उपचार गरी फर्किएका हुन् । उनीहरुसँगै फर्किएका छोराको भने परीक्षण नेगेटिभ देखिएको छ । वृद्ध वृद्धा र सँगै फर्किएका छोरालाई आज बिहानै कोरोना अस्पताल ल्याइएको छ ।

यस्तै नवलपरासीका सङ्क्रमितलाई बिहानै सो अस्पताल ल्याइएको छ। स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार ४५ वर्षीय ती पुरुष विनय त्रिवेणी नगरपालिका वडा नं ६ का हुन् । उनी जेठ १ गते भारतको गुजरातबाट आएका हुन् । उनका अनुसार आए लगत्तै उनलाई पश्चिम नवलपरासीको क्वारेन्टाइनमा राखिएको थियो । उनलाई जेठ ६ गतेदेखि आफ्नै वडाको क्वारेन्टाइनमा बसेका थिए ।

जेठ ७ गते बेलुका ज्वरो आएपछि उनी उपचारका लागि चोरमारा स्वास्थ्य केन्द्रमा ल्याएको उनले जानकारी दिए । पोजेटिभ देखिए लगत्तै उनलाई भरतपुर कोरोना अस्पताल पठाइएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सङ्क्रमण देखिएका तीन र यस अघिका एक गरी चारैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रहरीको कोरोना परीक्षण

काठमाडौँमा कार्यक्षेत्रमा रहेका प्रहरीलाई कोरोना सङ्क्रमण देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार जोखिममा काम गरिरहनु पर्ने भएका कारण उच्च सतर्कता अपनाइएको हो ।

उनले जिल्लामा रहेका १५ जना प्रहरीको पिसिआर परीक्षण र १०० जनाको र्यापिट डाइग्नोष्टिक टेष्ट गरेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मातहतमा रही लोथर, नारायणगढको पुल्चोक, मुग्लिन, कार्यालयकै मुद्दा फाँट, अस्पताल, विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा कार्यरत प्रहरीको परीक्षण गरिएको उनले बताए ।

सो कार्यालयले प्रहरी अधिकृतदेखि जवानसम्मलाई साबुन पानीले हात धुन, कार्यक्षेत्रबाट फर्किएपछि आफ्नो पोशाकलाई धोएर निर्मलीकरण गर्न, कार्य क्षेत्रमा रहेको समयमा सामाजिक दूरी कायम गरी आफ्नो काम सम्पन्न गर्न लगाइएको उनले जानकारी दिए।

प्रहरी स्वास्थ्यकर्मीभन्दा पनि अग्रपङ्तिमा रहेर काम गरिरहेको उनको भनाइ छ । अहिले जिल्ला प्रहरी कार्यालयमा करिब २५० को हाराहारीमा प्रहरी छन् । जिल्लाभर प्रहरीका ६६ इकाइमा गरेर ८०० जना प्रहरी कार्यरत रहेका छन् ।

क्वारेन्टाइनमा मदिरा पुर्याउने पक्राउ

कोरोना जोखिमका कारण बाहिरी जिल्लाबाट आएका र विदेशबाट आएकालाई जिल्लामा स्थानीय तहले क्वारेन्टाइन निर्माण गरी राख्ने व्यवस्था गरेका छ । क्वारेन्टाइनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्याउने क्रममा राप्ती नगरपालिकाका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलिया रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए। उनका अनुसार थपलियाले बुद्धशान्ति माविमा रहेको क्वारेन्टाइनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्याउन जाँदा इलाका प्रहरी कार्यालय भण्डाराले बुधबार साँझ नियन्त्रणमा लिएको हो ।रासस

Logo