सुदूरपश्चिममा ३६ दिन यता कोरोना सङ्क्रमित शून्य

सुदूरपश्चिममा ३६ दिन यता कोरोना सङ्क्रमित शून्य

केन्द्रबिन्दु
0
Shares

कैलाली ।

सुदूरपश्चिम प्रदेशमा पछिल्ला ३६ दिन यता कोरोना भाइरस सङ्क्रमित फेला परेका छैनन् ।

देशका विभिन्न जिल्लामा पछिल्ला केही दिन यता कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या दिनहुँ बढी रहे पनि सुदूरपश्चिममा भने सो अवधिमा सङ्क्रमित फेला नपरेका क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

सङ्क्रमित फेला नपरे पनि पछिल्लो समय भारतबाट सुदूरपश्चिमका विभिन्न नाकाबाट भित्रिन लागेका नागरिकका कारण कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मी बताउँछन् । यहाँका कैलाली, कञ्चनपुर, दार्चुला र बैतडी नाकाबाट नागरिक भित्रिन थालेपछि सिङ्गो प्रदेश कोरोनाको उच्च जोखिममा छ ।

प्रदेशमा गत चैत १४ गते कोरोना भाइरस सङ्क्रमणको पहिलो घटना फेला परेको थियो । त्यसपछि पाँच जना कोरोना सङ्क्रमित देखिएकामा सबै निको भएर घर फर्किसकेका कारण सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या शुन्य भएको क्षेत्रीय स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए । कोरोना सङ्क्रमितको उपचारका लागि यहाँको सेती प्रादेशिक अस्पताल कैलालीलाई कोरोना ‘डेडिकेटेड’ अस्पतालका रुपमा सञ्चालन गरिएको उनले जानकारी दिए ।

पछिल्लो समय सेती प्रादेशिक अस्पतालमा ५६ जना कोरोनाको शङ्कास्पदलाई निगरानीमा राखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पछिल्लो एक सातामा कैलाली र कञ्चनपुरहुँदै अरु जिल्ला गएका तीन जनामा कोरोना सङ्क्रमणको पुष्टि भइसकेकाले सुदूरपश्चिम भारतबाट आउनेका कारण उच्च जोखिममा रहेको छ । महेन्द्रनगर, अत्तरियाहुँदै दैलेख आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय एक युवामा सोमबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै कैलाली र कञ्चनपुरबाट अरु जिल्ला गएका व्यक्तिमा कोरोना पुष्टि हुनेको सङ्ख्या तीन पुगेको बताइएको छ ।

त्यसैगरी कैलालीबाट बर्दिया फर्किएकी ११ वर्षीया एक बालिका र कञ्चनपुरबाट काठमाडौँ गएकी ३३ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बर्दियाकी कोरोना सङ्क्रमित ११ वर्षीय बालिका कैलालीको गोदावरी र भजनी नगरपालिकामा ४२ दिन आफन्तको घरमा बसेर फर्किएकी बुझिएको छ । सम्पर्कमा आएका व्यक्तिको परीक्षण भइसकेको र सबैमा कोरोना सङ्क्रमण नभएको पुष्टि भइसकेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कञ्चनपुरबाट काठमाडौँ गएकी कोरोना सङ्क्रमित महिला बेदकोट नगरपालिकाकी भएको खुलेको छ । उनको सम्पर्कमा आएका व्यक्तिको पनि परीक्षण भइसकेको र कसैमा पनि सङ्क्रमण नभएको बताइएको छ ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा एक हजार ६७९ जना क्वारेन्टाइनमा रहेका र १३ जनालाई आइसोलेसनमा राखिएको छ । जसमध्ये सेती प्रादेशिक अस्पतालमा तीन, टीकापुरमा चार, बझाङमा एक, डोटीमा एक, बाजुरामा तीन र डडेल्धुरामा एक जनालाई आइसोलेसनमा राखिएका छन् ।रासस

Logo