प्रदेश नं ५ : प्रदेशसभाका ११ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

प्रदेश नं ५ : प्रदेशसभाका ११ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

केन्द्रबिन्दु
0
Shares

बाँके ।
प्रदेश नं ५ प्रदेशसभाका सदस्यको विहिबार कोरोना परीक्षण गरिएको छ । आरडिटी विधिबाट प्रदेशसभा सदस्य, सुरक्षाकर्मी र कर्मचारी गरी ३९८ जनाको परीक्षण गरिएकामा ११ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले जानकारी दिए । आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर परीक्षण गरिने बताइएको छ ।

शुक्रबारदेखि प्रदेशसभाको छैटौँ अधिवेशन शुरु हुने भएकाले सुरक्षा सतर्कताका लागि कोरोना परीक्षण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको नियमावली बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले शुक्रबार अपराह्न १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् ।

नीति कार्यक्रम जेठ १० मा

प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७७ /०७८ को नीति कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ ।

मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले नीति कार्यक्रम जेठ १० गते प्रदेशसभामा प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा दीपावली गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

बैठकले तराईका जिल्लामा दुई सय र पहाडी जिल्लामा ५० शैयाको आइसोलेशन केन्द्र बनाउने, केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका बिरामीलाई राख्ने र केन्द्र बनाउन कोभिड कोषबाट रकम दिने निर्णय पनि गरेको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकामा उनले पाउनुपर्ने बीमावापतको रु १० लाख प्रदान गर्ने निर्णयसमेत गरिएको छ ।रासस

Logo