झापामा कोरोना सङ्क्रमितको सङ्ख्या २७ पुग्यो

झापामा कोरोना सङ्क्रमितको सङ्ख्या २७ पुग्यो

केन्द्रबिन्दु
0
Shares

झापा।

झापामा कोरोना भाइरसको सङ्क्रमण देखिएका व्यक्तिको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ७ का १५ जना थपिएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा १८ देखि ४६ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । योसँगै कचनकवल गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ ।

भारतका विभिन्न स्थानबाट मङ्गलबार आएका उनीहरुलाई केचनाकै सीमा क्षेत्रबाट उद्धार गरी पालिकाले तयार गरेको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा बसेका ६५ जनाको स्वाब सङ्कलनका लागि मङ्गलबार नै कोशी अस्पताल विराटनगर पठाइएको थियो । त्यसमध्येबाट पाँच जनाको बुधबार नै कोराना पुष्टि भएको थियो भने थप १५ जनाको पिसीआर रिपोर्ट पोजेटिभ आएको आज बिहान विज्ञप्ति जारी गरी मन्त्रालय जनाएको छ ।

यसअघि सो पालिकामै भारतको मुम्बइबाट आएका १० युवामा कोरोना पुष्टि भएको थियो । पालिकामा सङ्क्रमित भेटिएसँगै जेठ ११ गतेसम्म सिल गरिएको छ । भारतबाट आउने नेपाली नागरिकलाई सुरक्षितरूपमा क्वारेन्टाइनमा राख्ने काम भइरहेको जनाइएको छ । यसअघि दमक र बाह्रदशीमा दुई जनामा कोरोना पुष्टि भएको छ । उनीहरु उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यहाँको काँकडभिट्टा, कचनकबल, टाघनडुब्बा र गौरीगञ्जबाट सयौँको सङ्ख्यामा भित्रिरहेका नेपालीका कारणसमेत झापा प्रदेशको ‘डेन्जरजोन’मा परेको हो । विर्तामोड नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन आज राति १२ बजेदेखि नगर सबै नाका सिल गर्ने भएको छ ।रासस

Logo