गुल्मी मदानेका कोरोना संक्रमितको निधन, प्रदेश सरकारद्वारा दुःख व्यक्त

गुल्मी मदानेका कोरोना संक्रमितको निधन, प्रदेश सरकारद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

गुल्मी ।
अस्पतालमा उपचाररत गुल्मी मदाने गाउँपालिका–६ निवासी कोरोना भाइरस संक्रमित ४१ वर्षीय पुरुषको निधन भएको छ । उनको रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः१० बजे निधन भएको प्रदेश नं ५ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पुष्टि गरे। प्रमुख चौधरीका अनुसार टाइफाइड, कमलपित्त र मिर्गौला रोगले ग्रस्त रहेका उनको आठ दिनदेखि भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

यसअघि सोमबार र मंगलबार विभिन्न मिडियामा संक्रमितको मृत्यु भएको गलत समाचार सम्प्रेषण भएपछि अस्पतालले विज्ञप्तिमार्फत अवस्था गम्भीर रहेको जानकारी गराएको थियो । बिरामी अस्पताल भर्ना हुँदा नै स्वास्थ्य अवस्था गम्भीर रहेकाले बाहिर अनावश्यक हल्ला आएको हुन सक्ने महाशाखा प्रमुख चौधरीले बताए । मदानेबासीका अनुसार बन्दाबन्दीमा पनि धेरै हिँडडुल गरेका कारण उनमा कोरोना संक्रमण भएको आशंका गरिएको छ । उनी गत वैशाख ४ गते मालिका गाउँपालिका ६ अर्जैमा एक विवाह कार्यक्रममा गएका थिए । यस्तै वैशाख २० गते धुर्कोट गाउँपालिका–७ वाग्लास्थित मानचौर तालमा घुम्न जानुभएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले बताए ।

वैशाख २८ गते साँझदेखि टाउको दुख्ने ज्वरो आउने समस्या भएपछि वैशाख २९ गते उनी पुर्कोटस्थित एक पोलिक्लिनिकमा उपचारका लागि गएका थिए । दुई दिनसम्म औषधि खाई आराम गरेर वैशाख ३१ गते पुनःक्लिनिकमा रगत जाँचका लागि गएका उनलाई कमलपित्त समस्या देखिएपछि अर्घाखाँचीको सन्धिखर्कस्थित छाया पोलिक्लिनिकमा सिफारिस गरिएको क्लिनिकका सञ्चालक विष्णु भुसालले बताए । त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि क्रिमसन अस्पतालमा लगिएको थियो ।

जेठ १ गते एम्बुलेन्समार्फत क्रिमसन अस्पतालमा आएका उनको कोरोनाको आशंकामा स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि २ गते प्रदेश प्रयोगशालामा पठाइएको हो । उनको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने तीन जना पुगेका छन् ।

सामाजिक विकासमन्त्रीद्वारा दुःख व्यक्त

प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले अस्पतालमा उपचाररत गुल्मी मदानेका कोरोना संक्रमितको निधनप्रति दुःख व्यक्त गरेका छन् । मन्त्री बरालले आज शोक विज्ञप्ति जारी गरी अनेकौंँ प्रयास गर्दा पनि उनलाई बचाउन नसकिएको जनाउँदै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक उनको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको जनाउँदै मन्त्री बरालले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।रासस

Logo